कांग्रेस महाधिवेशन : वडादेखि प्रदेश अधिवेशनसम्मको मिति हेरफेर गर्ने तयारी

नेपालखोज २०७८ साउन १ गते ७:३१

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

आजको बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव पदाधिकारी र पूर्व पदाधिकारीमा लैजाने तयारी गरिएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको छ । तर, वडादेखि प्रदेश अधिवेशनसम्मको मिति भने हेरफेर गर्ने तयारी छ ।

क्रियाशील सदस्यता छानबिनको काम नसकिएपछि कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको हो । असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेको थियो ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले सारिएको थियो । यसअघि मंगलबार बोलाइएको बैठक सर्वोच्च अदालतले सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि स्थगित भएको थियो ।

प्रतिक्रिया