बिहीबार, जेठ २, २०८२

कांग्रेस क्रियाशील सदस्य करिब ९ लाख, सदस्यताको विवाद टुंगियो

नेपालखोज २०७८ साउन १ गते २०:१३

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा कांग्रेसको १४औं महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल गरिएको नेता रमेश लेखकले जानकारी दिए ।

उनले भने– ‘केन्द्रीय क्रियाशिल छानविन समितिमा हामीले अब हाम्रो कामलाई अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ । हाम्रो काम अलमोष्ट सकिएको अवस्था छ । र हामीले आज सभापतिजीसँग प्रतिवेदन बुझाउनका लागि समय पनि माग गरेका छौँ । आदरणीय सभापतिजी, प्रधानमन्त्रीजीको कार्यव्यस्तताको कारणले भोलि पर्सि जुनदिन उहाँलाई फुर्सद हुन्छ हामी प्रतिवेन बुझाउछौँ भनेर भनेका छौँ । र क्रियाशिल सदस्यता सम्बन्धी काम टुंगोमै पुग्ने स्थिति भएको छ भने निर्वाचनसँग सम्बन्धित काम पनि अगाडी बढेको छ । निर्देशिका मस्यौदा भएको छ । आज त्यो निर्देशिका प्रस्तुत भएको छ । त्यो निर्देशिकालाई पनि अब अन्तिम रुप दिनका लागि पार्टीको सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन समितिका साथीहरुसँग बसेर निर्देशिकालाई अन्तिम रुप दिने भन्ने कुरापनि भएको छ भने त्यसरी नै समायोजन समितिको पनि अहिलेसम्मका निर्णयहरु र आगामी दिनमा कसरी कार्यान्वयनमा जाने भन्ने विषयमा केन्द्रीत भएर छलफल भएको छ ।’

उनले कांग्रेसको क्रियाशिल सदस्यताको विषय टुंगिइसकेको बताए । विदेशमा समेत गरेर कांग्रेसको क्रियाशिल सदस्य ९ लाखको हाराहारीमा रहेको उनले बताए ।

प्रतिक्रिया