सोमबार, फागुन १४, २०८०

लुकाइएको पीडा

आचार्य प्रभा २०७८ साउन २ गते ९:०८

महिला अधिकारकर्मीको अफिस महिलाहरुले भरिएको थियो। सबिना सबैको पीडा सुन्न व्यस्त थिइन् । त्यहीबीच एक वृद्ध महिलाले भनिन्- ‘जो आफू नारी हिंसाबाट पीडित छ। उसले अन्य पीडित नारीहरुलाई कस्तो न्याय दिनसक्ला ?”

सबैजना आश्चर्यचकित बन्दै उन्लाई हेर्न थाले । एकजनाले ती वृद्धलाई भनिन्- ‘तपाईंले के भन्दै हुनुहुन्छ ? यो ठाउँ के हो थाहा छ ?’

  • ‘थाहा छ। नारीहरुले अधिकारका लागि आवाज उठाउने ठाउँ हो,’ उनले ठाडो जवाफ दिइन् ।

-‘थाहा भएको भए यस्तो कुरा उठाउँनु हुन्थ्यो ?’ उही नारीको प्रश्न ।

-‘अधिकारकर्मीकै ठाउँमा नारी हिंसालाई रोक्ने नारी स्वयं पीडित छ भने, त्यस्ताले अरुलाई के सुरक्षा दिन्छ ?’ वृद्धको जवाफ।

-‘यिनलाई बाहिर निकालौं ।’ सबै महिलाहरुले वृद्धलाई धकेल्ने प्रयत्न गर्दा-गर्दै, सबिनाले रोकेर भनिन्- ‘भन्नुहोस् आमा ! के भन्ने मन छ ?’

-‘तँ आफैं रातदिन नारी हिंसाबाट पीडित छस्। आफ्नो पीडा लुकाकी छस् भने कसरी तैंले यी महिलाहरुलाई नारी हिंसाबाट बचाउँछस् ? तलाईं न्याय दिने को ?’ आमाले भनिन् ।

-‘भैगो छाडिदिनुहोस्। एकदिन उहाँको बुद्धि फर्किएला । म आफ्नो लोग्नेको उच्च शिर ढाल्न चाहन्नँ । मैले खान्दानको इज्जतका लागि पनि मौन बस्नुपर्छ तर समाजका दिदी बहिनीहरुका लागि चाहिँ लड्छु। ‘सविनाले आमालाई भनिन् ।

आमाछोरीको वार्तालाप सुनेर ती महिलाहरुले आश्चर्यचकित बन्दै भने । -‘आमाको कुरा सही छ । जसले अन्याय सहन्छ । ऊ अन्याय गर्नेभन्दा अझ अपराधी हुन्छ । हजुर आफैं पीडित भएर पीडकलाई बचाउँदै हुनुहुन्छ भने यो गलत हो । नारी हिंसाविरुद्ध आवाज पहिला आफ्नै घरबाट उठाउनुपर्छ। जो नारी अधिकारकर्मी भएर आफैं नारी हिंसाको सिकार हुनुहुन्छ भने यो हामीलाई सह्य हुँदैन। घरको इज्जत, श्रीमान्‌को स्वच्छ छवि देखाउन शिक्षित नारीहरु नै हिंसा दबाएर बस्छन् भने यो नारीहरूकै लागि घातक हो । हामीले हजुरकै घरबाट नारी हिंसाको जड उखाल्नुपर्छ।’
भन्दै सबै बाहिरिए आमासमेत। सबिना एकोहोरो टोलाइरहिन् रहिन् त्यहीँ नै ।

प्रतिक्रिया