सोमबार, वैशाख ३१, २०८१

बल्लभ र श्रेष्ठलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’

नेपालखोज २०८० वैशाख २५ गते २२:२७

काठमाडौं । ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही ५० हजार रहेको छ ।

यस्तै २५ हजार राशिको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भिपी सिंहलाई प्रदान गरिएको छ । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा गरिएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ ग्रहणपछि सङ्गीतकार वल्लभले अन्य पुरस्कार तथा सम्मानको तुलनामा यो आफ्नो लागि विशेष रहेको बताए ।

‘मलाई सबैभन्दा मन पर्ने गायकको हातबाट उहाँकै नामको सम्मान ग्रहण गर्दा मेरो लागि यो ऐतिहासिक छ । उहाँसँग सङ्गीत यात्रा र रेडियो नेपालको धेरै प्रसङ्ग जोडिएका छन्’, उनले भने । गायक श्रेष्ठले नेपाली साङ्गीतिक क्षेत्रमा गायक आचार्यको अतुलनीय योगदान रहेको बताए ।

‘उहाँको उपस्थिति हाम्रो लागि कति महत्वपूर्ण छ भन्ने शब्दमा बयान गर्न सक्दिन । यो सम्मान मेरो लागि ऊर्जा हो’, उनले भने । समारोहमा गायक आचार्यका पुत्रद्वय गायक सत्यराज आचार्य र स्वरुपराज आचार्य तथा सुरज थापाले सम्मानित व्यक्तित्वका कालजयी गीत प्रस्तुत गरेका थिए ।

उनीहरुले आचार्यले गाएका केही लोकप्रिय गीतसमेत प्रस्तुत गरेका थिए । समारोहमा साङ्गीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो । -rss

प्रतिक्रिया