शुक्रबार, जेठ ४, २०८१

प्रजातान्त्रिक योद्धाको समय डायरी

कृष्ण कँडेल २०७८ जेठ १ गते १२:५९

२०४६ को जनआन्दोलनपश्चात नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । नेपाली कांग्रेसले बहुमतका साथ शासनको बागडोर प्राप्त गर्‍यो तर नेता र कार्यकर्ताबीच समन्वय नहुँदा न देशको विकासको रथ समुचित तवरले अघि बढ्न सक्यो न पार्टीमा संस्थागत सुधार आयो । तिलक सापकोटाले आफ्नो लोकतान्त्रिक आन्दोलनको समय डायरी ‘यात्रा निरन्तर’ मा यी र यस्ता थुप्रै विषयलाई उत्तखनन् गर्ने जमर्को गरेका छन् । खासगरी गैंडाकोट र समग्र नवलपुर एवं नवलपरासीलाई आफ्नो कार्य क्षेत्र बनाएका तिलक आज पनि उक्त क्षेत्रको समुचित विकासका लागि क्रियाशील छन् ।

प्रजातान्त्रिक समाजवादको निरन्तर यात्रामा तिलक र हजारौं तिलकहरूले आफ्नो जीवन न्यौछावार गरिरहँदा कांग्रेस पार्टी र तिनका मठाधीशहरू बेखबर छन् भन्नु आफैंमा लज्जास्पद कुरा हो । खोई कहाँ छ प्रजातन्त्र ? खोई कहाँ छ समाजवाद ? कागजको घोडा चढेर गन्तव्यमा को पुगेको छ र ? तिलक सापकोटाहरू आज पनि कांग्रेसको समाजवाद टुकी बालेर खोजिरहेका छन् ।

एउटा प्रजातान्त्रिक योद्धाको यो राजनीतिक एवं सामाजिक डायरीमा पञ्‍चायतका अँध्यारा दिनको संघर्षको गाथा छ । जेल जीवनको चर्चा छ । राजनीतिक, आर्थिक, सामाजिक अनि आध्यात्मिक पाटोलाई पनि बहसको विषय बनाइएको छ ।

पुस्तकमा लेखकले सरकारी तवरमा मात्र होइन नागरिक स्तरमा हुने भ्रष्टाचारबारे समेत चिरफार गर्ने प्रयत्न गरेका छन् । उनी भन्छन्- इमानदारिता र चरित्रको कुरा, इमान-जमानको पक्का हुने कुरा आमसर्वसाधारणदेखि नेतासम्मले अनुसरण गर्नुपर्छ तब मात्र परिवर्तनको आभास जनताको घर-आँगनसम्म पुग्छ । पुस्तकमा उल्लेखित गिरिजाप्रसाद कोइराला र आफ्ना छोराहरूलाई तिलकले लेखेको पत्र अनुकरणीय छ । समाज सेवा र राजनीतिलाई समानान्तर ढंगले अघि बढ़ाएका तिलक नवलपुर, नवलपरासी खासगरी गैंडाकोट आसपासमा सम्मानित छन् । त्यसो त उनी राष्ट्रिय राजनीतिमा हुँ भन्ने कतिपय नेताहरुभन्दा धेरै माथिका सामाजिक अभियन्ता हुन् भन्दा अतिशयोक्ति नहोला ।

यो पुस्तकमा २०४२ सालको सत्याग्रह, ०४८ सालको आमनिर्वाचन, कांग्रेसभित्रको सांगठनिक किचलोको संक्षिप्त चर्चासमेत गरिएको छ । यद्यपि यी विषयमा लेखक त्यति खुल्न नचाहेको आभाष हुन्छ ।

पुस्तकको सम्पादन र भाषा व्यवस्थापन यथोचित नभएको कुरा जो कसैलाई खट्किन सक्छ । एउटा महान् उद्देश्य बोकेर सागरमा होमिएको स्वतन्त्रता सेनानीले झिना-मसिना अथवा नि:तान्त व्यक्तिगत कुरा पनि पुस्तकमा समेट्न खोज्नु पनि त्यति स्वभाविक लाग्दैन ।

कृष्ण कँडेल

प्रतिक्रिया