बाढी-पहिरोले देशभरका १५ सडक खण्ड अवरुद्ध, ६६ सडक एकतर्फी सञ्चालन

काठमाडौं । सडक विभागले बाढी र पहिरोका कारण बन्द भएमा देशभरका १५ सडक खण्ड अझै सञ्चालनमा आउन नसकेको जनाएको छ । ६६ वटा सडक खण्ड भने एकतर्फी रुपमा सञ्चालन भइरहेको विभागले जनाएको छ ।
काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अझै सञ्चालमा आउन सकेको छैन् । सिन्धुपाल्चोकको लिपिङ पुल भत्किँदा यो सडक खण्ड बन्द भएको थियो ।
त्यस्तै ठाउँ/ठाउँमा पहिरो र कटानका कारण डुम्रे–बेसीसहर–चामे सडक खण्ड बन्द भएको छ । गएको असार ३ गतेदेखि बन्द यो सडक खण्ड खुलाउन समस्या भएको सडक विभागले जनाएको छ ।
पहिरोका कारण ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड पनि झण्डै एक महिनादेखि बन्द छ । गएको असार १ गते रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला र गाँजाबारीमा पहिरो गएकाले यो सडक बन्द भएको थियो ।
त्यस्तै, सिन्धुपाल्चोकको कोदारीमा पहिरो गएकाले काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड पनि लामो समयदेखि बन्द छ ।
प्रतिक्रिया