सिंगटी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जाेडियाे

नेपालखोज २०७८ साउन २ गते १२:२७

काठमाडाैं । सिंगटी जलविद्युत आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । दोलखाकाे कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको हो ।

यस अघि नै निर्माण सम्पन्न भएर सफल परीक्षण सकिएको सिंगटीले उत्पादन गरेको विद्युत शुक्रबारदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडिएको कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले जानकारी दिए ।

उनले भने, ‘आयोजनाबाट उत्पादित विद्युत नेसनल ग्रिडमा जोड्न सफल भएका छौं । सिंगटी लामोसाँघु प्रसारणलाइनको परीक्षण सफल भएपछि उत्पादित विद्युत सोही प्रसारण लाइनमार्फत नेसनल ग्रिडमा जोडिएको हो ।’

पहिलो चरणमा प्रतिसेकेन्ड ५ हजार लिटर पानी छोडिँदा दुईवटा टर्वाइनमार्फत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार दिउसोको ३ बजेदेखि उत्पादित विद्युत प्रशारण लाइनमा जोडिएको हो ।

डेढ वर्ष अघि नै निर्माण सम्पन्न भएको भएपनि प्राधिकरणले परीक्षणका लागि ढिलाई गर्दै आएको थियो । ढिलाई हुँदै आएको काम ३ महिना अघि नेपाल विद्युत प्राधिकरणले भौतिक रुपमा उपस्थित भएर परीक्षणको काम सम्पन्न गरेको थियो ।

सिंगटी ‘सुपर सिक्स’ मध्येको नमुना आयोजना हो । नेपाल विद्युत प्राधिकरणले २०६७ सालमा सबैभन्दा छिटो विद्युत उत्पादन हुने ६ वटा आयोजनाहरु फास्ट ट्रयागकबाट बिजुली उत्पादन गर्न भन्दै सुपर सिक्स नामकरण गरि निजी क्षेत्रलाई जिम्मा लगाएको थियो ।

तीमध्ये सिंगटी सबैभन्दा चाँडो बिजुली उत्पादन गरी प्रशारणलाइनमा जोडिने आयोजना हो ।

प्रतिक्रिया