प्रधानमन्त्री देउवाले मागे विश्वासको मत, मत लिने प्रक्रिया सुरु

नेपालखोज २०७८ साउन ३ गते १८:४१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । उनले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएर विश्वासको मत मागेका छन् ।

आइतबारको प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दै देउवाले तीन वर्षभन्दा बढी समय सरकार सञ्चालन गरेका ओलीलाई धन्यवाद दिँदै देशमा सुशासन कायम गर्नुपर्ने अवस्था रहेको पनि बताए। प्रतिनिधिसभाको आईतबारको दोस्रो बैठकमा उनले प्रधानमन्त्रीको रुपमा आफूलाई विश्वासको मत दिन सबै राजनीतिक दलहरुसँग आग्रह गरे ।

“म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु ।” प्रधानमन्त्री देउवाले भन्नु भयो, “सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु ।”

त्यस अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बन्न सहयोग र समर्थन गर्ने सबै राजनीतिक दलका नेताहरु, सांसदहरु सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले गरेको असल कामका लागि धन्यवाद दिँदै उनले ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

“हामी सबैसँग आ–आफ्ना अनुभवहरु छन् । माननीय केपी शर्मा ओलीले बिगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ । उहाँले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु ।” प्रधानमन्त्री देउवाले भने, “ उनको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ ।”

प्रधानमन्त्री देउवाले देशमा सुशासन कायम गर्नुपर्ने भएकाले सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बिच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक रहेकोमा जोड दिए । उनले भने, “यसका लागि म सदैव प्रयत्नशिल रहने छु ।” प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड-१९ को प्रकोपबाट जोगाउने कामलाई सरकारले पहिलो प्राथमिकता दिने प्रतिवद्धता समेत व्यक्त गरे । सरकारले कोभिड-१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्ने उनको योजना थियो । कोभिड-१९ हाम्रो तत्कालको चुनौति रहेको औल्याउँदै प्रधानमन्त्री देउवाले त्यसलाई चिरेर अघि बढन सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।

प्रतिक्रिया