फाल्ने ठाउँ भरिएपछि उपत्यकाको फोहोर उठ्न सकेन

काठमाडौं । पछिल्लो साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन सकिरहेको छैन । फोहोर व्यवस्थापन गरिँदै आइएको सिन्धुपाल्चोकको सिसडोल ल्यान्डफिल साइट भरिएकोले काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेको हो ।
विगत दुई महिना यता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन भने पछिल्लो एक सातायता त फोहोर व्यवस्थापन ठप्प प्रायः छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि आइतबार काठमाडौं महानगरपालिका, सडक विभाग र शहरी विकास तथा भवन निर्माण विभागको टोलीले बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेको थियो ।
साइट अवलोकन गर्दा दशैंअघि फोहोर व्यवस्थापन हुन सक्ने अवस्था नदेखिएको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले ‘भ्याली टु’ को केही स्थान खाली गरेर फोहोर व्यवस्थापन गरिरहेको बताएका छन् ।
काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको छ ।

प्रतिक्रिया