शुक्रबार, जेठ ३, २०८२

२२ सांसदलाई सोधिएको चौबीस घण्टे स्पष्टीकरणबारे कुनै निर्णय भएन

नेपालखोज २०७८ साउन ५ गते २०:०४

काठमाडौं । नेकपा (एमाले) का २२ सांसदलाई सोधिएको चौबीस घण्टे स्पष्टिकरणको सम्बन्धमा आजको एमाले केन्द्रीय कमिटीको बैठकमा कुनै निर्णय भएको छैन् । आजको बैठकमा कुनै निर्णय नगरेको तर सांसदको हातमा पत्र पुगे पछिको चौबीस घण्टाभित्र स्पष्टिकरण बुझाउनुपर्ने प्रवक्ता प्रदीपकुुमार ज्ञवालीले बताएका छन् ।

त्यस्तै, आजको बैठकमा प्रदेश अध्यक्षहरुले पार्टीभित्र देखिएको अन्योलतालाई छिटो भन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन् । आजको बैठकमा आ–आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडी बढाउन समस्या पर्ने भन्दै छिट्टै समाधान गरी लयमा फर्काउनु पर्ने बताएका हुन् ।

मंगलबारको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, कर्णाली अध्यक्ष गोरख बोगटी, लुम्बिनी अध्यक्ष लिला गिरी, गण्डकी अध्यक्ष जगत विश्वकर्मा, वाग्मती अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश १ अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेको प्रवक्ता प्रदीपकुुमार ज्ञवालीले बताए ।

प्रदेश अध्यक्षहरुले पार्टीबाट केही नेताहरु बाहिरिए भने त्यसको प्रभावहरु के पर्न सक्छन् र आसन्न निर्वाचनमा नेकपा (एमाले)को अवस्था कस्तो हुन सक्छ भन्ने सम्बन्धमा पनि रिर्पोटिङ गरेको ज्ञवालीले बताए । प्रदेश अध्यक्षहरुले प्रशिक्षण कार्यक्रम गरिनु पर्ने र आफुभित्र भएका कमी कमजोरीहरुको पनि आत्मसमिक्षा गर्नुपर्ने सुझाव दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

उनले भने– ‘पार्टीभित्र रहेको यो अन्योल छिटोभन्दा छिटो समाप्त भएर पार्टी एउटा लयमा, गतिमा अगाडी बढ्नुपर्छ । पार्टी कमिटीहरुलाई माथिदेखि तलसम्म चुस्त दुरुस्त बनाएर लैजानुपर्छ, राष्ट्रव्यापी रुपमा अभियानहरु सञ्चालन गरिनुपर्छ । प्रशिक्षणहरु अगाडी बढाइनुपर्छ । सरकारमा रहँदा हामीले गरेका कामहरु र अहिलेको प्रतिकुल राजनीतिक परिस्थिति निर्माणका विभिन्न पक्षहरुको बारेमा पार्टी पंक्तिलाई जानकारी गराउनुपर्छ र हामी आफ््नै पनि केही कमीहरु छन् भने तिनीहरुको गहन आत्मसमिक्षा गर्नुपर्छ भन्नेखालका सुझावहरु दिनुभएको छ । बैठकले ति सुझावहरुलाई ग्रहण गरेको छ । उठेका केही प्रश्नहरुको बारेमा भोली महासचिवले त्यसको प्रतिउत्तर दिनुहुनेछ ।’

बैठकमा पार्टी एकताका लागि गठित कार्यदलले हालसम्म गरेका गतिविधिको सम्बन्धमा संस्थापन पक्षका संयोजक सुभाषचन्द्र नेम्वाङले जानकारी गराएका थिए भने भूमि समस्या समाधान गर्न गठित आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोगले देशभर गरेका कामहरुको सम्बन्धमा बैठकलाई जानकारी गराएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी बैठक भोलि दिउँसो ३ बजे बस्ने पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया