शुक्रबार, वैशाख १४, २०८१

अन्तरिक्षमा जेफ बेजोसको उडान !

नेपालखोज २०७८ साउन ६ गते ६:१७

काठमाडौं । अन्तरिक्षमा हिजो फेरि एउटा नयाँ इतिहास रचियो । अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनको टुरिज्म रकेट न्यु सेपर्ड हिजो साँझ पौने ७ बजे चारजना मानिसलाई लिएर अन्तरिक्षको यात्रामा गयो अनि केही समयपछि सकुशल पृथ्वीमा फर्कियो ।

अन्तरिक्षको यो यात्रामा जेफ बेजोस, उनका भाई मार्क, नेदरल्यान्डका १८ वर्षीय ओलिवर डेमनका साथ विमानसम्बन्धी क्षेत्रसँग जोडिएकी ८२ वर्षीया वेली फंक सहभागी थिए ।

नेदरल्यान्डका ओलिवर डेमन पैसा दिएर अन्तरिक्षको भ्रमण गर्ने पहिलो ग्राहक भएका छन । डेमनले त्यसका लागि कति खर्च गरे गोप्य राखिएको छ । डेमन अन्तरिक्ष भ्रमणमा जाने सबैभन्दा युवा व्यक्ति पनि हुन् । यात्राअघि जारफ एक भिडियोमा डेमनले भनेका थिए, ‘म शून्य गुरुत्वाकर्षणको अनुभव गर्न र अन्तरिक्षबाट पृथ्वीलाई हेर्न निक‌ै उत्साही छु ।’

यात्राका लागि ब्लु ओरिजिनको न्यु सेपर्ड रकेटले वेस्ट टेक्सासबाट उडान भरेको थियो । यसको नौ दिनपहिले वर्जिन गलेक्टिकका रिचर्ड ब्रेनसनले अन्तरिक्षको पहिलो व्यावसायिक यात्रा गरिसकेका छन् ।

कस्तो छ न्यु सेपर्ड रकेट ?
– पाँचतले न्यु सेपर्ड रकेटमा एकसाथ ६ जनाले अन्तरिक्षको उडान भर्न सक्छन् ।

– यो रकेट लगभग ३ लाख ४० हजार फिट माथिसम्म पुग्न सक्छ ।

– यात्रुले यो रकेटको उडानका क्रममा केही मिनेट माइक्रोग्रेभिटीमा भारहीनताको अनुभव गर्न सक्छन् ।

– यो रकेटमा बसेर अत्यधिक उचाइबाट पृथ्वीलाई हेर्न सकिन्छ ।

– न्यु सेफर्ड रकेट तथा क्याप्सुलको नाम सन् साठीको दशकका अन्तरिक्षविज्ञ एलन सेफर्डको नाममा राखिएको हो ।

– एलन सेफर्ड अन्तरिक्षमा पुग्ने पहिलो अमेरिकी नागरिक हुन् ।

– यो रकेटमा ६ जना बस्न मिल्ने भए पनि मंगलबार चार यात्री मात्र सामेल थिए ।

– यो रकेटलाई पाइलट चाहिँदैन किनभने यो पूर्ण अटोमेटिक हुन्छ । जमिनमा भएको एक मास्टर कन्ट्रोल सेन्टरले नै यसलाई नियन्त्रण गर्छ ।
-विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया