यी हुन् बीपी (फोटो फिचर)

नेपालखोज २०७८ साउन ६ गते १७:३८

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो भने कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । बीपी नेतृत्वको सरकारले बिर्ता उन्मूलन, वनको राष्ट्रियकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागु गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । तर जननिर्वाचित सरकारले १८ वर्ष काम गर्न पाउँदा नपाउँदै २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद् भंग गरेपछि बीपीले आठ वर्ष सुन्दरीजल जेलमा बिताउनु पर्‍यो ।

रिहा भएपछि मुलुकभित्र बसेर सशक्त आन्दोलन गर्ने वातावरण नदेखेर उनी भारत प्रवासमा गए । त्यहीँबाट पञ्चायतविरुद्ध, सशस्त्र क्रान्ति चलाए । आठ वर्ष भारत प्रवासमा बिताएपछि मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्ने संकेत ठानेर बीपी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किए ।

प्रजातन्त्रका लागि लडे पनि राष्ट्रियताको सवालमा आफ्नो र राजाको घाँटी जोडिएको अभिव्यक्ति बीपीले दिएका थिए । त्यसको केही वर्षमै मुलुकमा जनमत संग्रह घोषणा भयो । पञ्चहरुले धाँधली गरी बहुदल हराएको भन्दै परिणाम स्वीकार नगर्न पार्टीभित्र तीव्र दबाब परे पनि बीपीले परिणाम स्वीकार गरे । मुलुकको सार्वभौमिकताका सामु प्रजातन्त्र गौण हुन्छ भन्ने कुरालाई व्यवहारमै उतार्नु बीपीको चानचुने निर्णय थिएन । बीपीको निधन भएको चार दशक पुग्नै लाग्दा उनले प्रतिपादन गरेको मेलमिलापको नीति अझैं सान्दर्भिक छ ।

तस्बिरहरु : सामाजिक सन्जालबाट लिइएका हुन् ।

प्रतिक्रिया