‘उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्न आवश्यक’

नेपालखोज २०७८ साउन ६ गते १९:०३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नु पर्ने बताएका छन् । बुधवार नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागतरुपमा नयाँ संकल्पको खाँचो रहेको बताए ।

अर्थमन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्नु आवश्यक रहेको पनि बताए । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उनको भनाइ छ । देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगिकिकरण भएको उनले उल्लेख गरे ।

उनले भने– ‘उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हाम्रो चुनौती हो । यसलाई बदल्नका लागि नीतिगत, योजनागतरुपमा, कार्यन्वयनका दृष्टिकोणले र प्रतिवद्धताका दृष्टिकोणले एउटा नयाँ संकल्पको आवश्यकता छ, हामीले स्थानिय स्तरमा, प्रदेश स्तरमा साना उद्योगहरुको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगहरुको बीचमा फेरि ठूला उद्योगहरु स्थापना गर्नुपर्ने आवश्यकता छ । औद्योगिक क्षेत्रमा विशेष लगानी, विशेष जोड नगरीकन हामी देशलाई आत्मनिर्भर बनाउन सक्दैनौँ । हाम्रो आयातमुखि अर्थतन्त्रलाई निर्यातमुखि बनाउनको लागि यो अत्यन्त आवश्यक छ । व्यापार घाटाको जो समस्या छ, त्यसलाई हामीले निराकरण गर्नका लागि औद्योगिकरण नै हाम्रो मुख्य आधार हो ।’

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनःस्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए ।

त्यस्तै, कार्यक्रममा उद्योगपति तथा सांसद् विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनको निम्ति प्रधानमन्त्री र अर्थमन्त्री समक्ष आग्रह गरेका छन् । उनले नेपालमा उद्योग धन्दा सञ्चालन गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्ता माझ पुर्‍याउनु पर्ने पनि बताए ।

त्यस्तै, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली श्रम शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने– ‘करिव ५ लाखको संख्यामा श्रम बजारमा प्रवेश गर्ने नेपाली श्रम शक्तिलाई स्वदेशमा स्वरोजगार एवम् रोजगारीको सृजना गरि अवसर दिने ठोस नीति, निर्माण गरी अघि बढाउनु आजको आवश्यकता हो ।’ अग्रवालले नीजि क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमीक तथा मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रतिक्रिया