शुक्रबार, वैशाख ७, २०८१

दुई अनुकरणीय नेपाली नेता !

रघुजी पन्त २०७८ साउन ७ गते १०:०२

हिजो साउन ६ गते र आज ७ गते नेपालका दुई ठूला राजनीतिक शक्ति कांग्रेस र कम्युनिस्टका नेता-कार्यकर्तासहित समग्र नेपालीले देशको वाम-प्रजातान्त्रिक आन्दोलनका दुई शीर्षस्थ हस्ती विश्वेश्वरप्रसाद (बीपी) कोइराला तथा पुष्पलाल श्रेष्ठको सम्झना गरे । यिनै दुई हस्तीबारे नेकपा (एमाले) का नेता, पूर्वसांसद एवं राजनीतिक विश्लेषक रघुजी पन्तका दुई भिन्न टिप्पणी :

विश्वेश्वरप्रसाद (बीपी) कोइराला
साउन ६ गते अर्थात् विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवस । सबभन्दा पहिले उहाँमा नमन र हार्दिक श्रद्धाञ्जली !

नेपालमा लोकतन्त्र स्थापनाका लागि जीवनभर संघर्षरत बीपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री त थिए नै साथसाथै बहुमुखी प्रतिभा भएका प्रखर राजनीतिज्ञ पनि थिए । उनको बौद्धिक क्षमता विशिष्ट थियो ।

उनका साहित्यिक रचनाहरूको प्रशस्त अध्ययन, चर्चा, परिचर्चा र समीक्षा भएको छ । तर उनका राजनीतिक विचार र रचनाहरूको सिलसिलेवार अध्ययन, तत्कालीन समय र सन्दर्भको आलोकमा तिनको आलोचनात्मक समीक्षा र नेपालको समकालीन राजनीतिमा उनले र उनका विचारले पारेका प्रभावबारे व्यवस्थित अध्ययन एवं मूल्यांकन हुन सकेको छैन ।

नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषयमा यतिबेला बहस चलिरहेको छ । स्वयं बीपी कोइरालाका पुत्र तथा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्र हुनुपर्ने र धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राखिनुपर्ने विचार व्यक्त गर्दै आएका छन् ।

कुनै पनि राजनीतिक नेता वा विचारक सर्वकालीन हुन सक्दैन । बीपी कोइरालाका पनि यस अर्थमा आफ्ना सीमा र विशेषताहरू थिए । तिनको प्राज्ञिक र यथार्थपरक मूल्यांकन, आलोचना, समालोचना हाम्रा राजनीतिशास्त्रका प्राज्ञ, इतिहासकार र बौद्धिक क्षेत्रले गर्नु आवश्यक छ । एकोहोरो प्रशंसा, आलोचना वा आग्रह र पूर्वाग्रहले हामीलाई सत्यसँग साक्षात्कार गराउँदैन, सही ढंगले यथार्थबोध गराउँदैन ।

नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषयमा यतिबेला बहस चलिरहेको छ । स्वयं बीपी कोइरालाका पुत्र तथा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्र हुनुपर्ने र धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राखिनुपर्ने विचार व्यक्त गर्दै आएका छन् ।

स्वस्थ ढंगले हुने कुनै पनि छलफललाई लोकतन्त्रमा निषेध गरिनु हुँदैन । यस्ता विषयमा लामो समयसम्म छलफल चलिरहन सक्छ । चलिरहनु पनि पर्छ ।

तर बीपी कोइराला हिन्दु राष्ट्र र कुनै पनि प्रकारको धार्मिक पक्षधरताका विरुद्धमा थिए । म शशांक कोइरालालगायत हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई बीपी कोइरालाले २०३६ साउन ४ गते काठमाडौंबाट प्रकाशित हुने विक्ली मिररलाई दिएको अन्तर्वार्ताको नेपाली अनुवाद, जो ‘नेपाललाई हिन्दु राष्ट्र भन्नु झेली हो’ भन्ने शीर्षकमा पटक-पटक प्रकाशित भएको छ, एकपटक पढ्न आग्रह गर्दछु ।

धर्म सम्बन्धमा बीपी कोइरालाको गहिरो बुझाइ र उनको विचार राम्ररी बुझ्न होमनाथ दाहालको सम्पादनमा प्रकाशित हुने साप्ताहिक राष्ट्र पुकारमा २०३८ साल पुसमा प्रकाशित ‘देवताकहाँ कहिल्यै प्रार्थना गरिनँ’ भन्ने बीपी कोइरालाको रचना (जुन रचना २०७१ मंसिर २० गतेको नागरिक दैनिकमा होमनाथ दाहालको टिप्पणीसहित पुन: प्रकाशित भएको छ) लाई अध्ययन गर्दा पनि हुन्छ । त्यस्तै ‘धर्म र समाजवाद’ तथा ‘धर्म, ईश्वर र नियति’ भन्ने लेख अध्ययन गर्न आग्रह गर्दछु ।

बीपी कोइरालाका रचना वा विचार नेपालको राजनीतिक विकासक्रम र राजनीतिक इतिहास बुझ्न चाहने सबैले अध्ययन गर्नु आवश्यक छ । उनका रचनाहरूको उपयोगिता आज पनि उत्तिकै छ । उनका रचना आफ्नो समयका साक्षी र महत्त्वपूर्ण आलेखहरू हुन् । आज पनि तिनको अध्ययन हुनु र तिनमा छलफल हुनुपर्दछ ।

नेपाली राजनीतिका एक उच्च र विशिष्ट पात्र, लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ नेता एवं विचारक बीपी कोइरालाप्रति पुनः हार्दिक श्रद्धाञ्जली !

क. पुष्पलाल श्रेष्ठ
२०७८ साउन ७ गते कमरेड पुष्पलालको ४३औं स्मृति दिवस । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई सलाम र हार्दिक श्रद्धाञ्जलि !

नेपालको वामपन्थी आन्दोलनका संगठक, संस्थापक र सिद्धान्तकारका रूपमा पुष्पलालको भूमिका सर्वाधिक उल्लेखनीय छ । उहाँले प्रतिपादन गर्नुभएको तीन ‘स’ को नीति अर्थात् ‘सिद्धान्त, संगठन र संघर्ष’ आज पनि मननीय छ ।

नेपालको इतिहास र नेपाली समाजलाई मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण गर्ने र लेख्ने कामको पुष्पलालले अगुवाइ गर्नुभएको छ । दक्षिणपन्थी दिशातिर बरालिएर रहेको नेपालको वामपन्थी आन्दोलनलाई उहाँले पुनर्गठन गरेर सक्रियता र संघर्षको बाटोमा डोर्‍याउँदै क्रियाशील बनाउनुभयो ।

नेपालको इतिहास र नेपाली समाजलाई मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण गर्ने र लेख्ने कामको पुष्पलालले अगुवाइ गर्नुभएको छ ।

नेपालको राजनीतिक विकासक्रम, संघर्षको इतिहास र नेपाल बुझ्न पुष्पलालका रचनाहरू अध्ययन गर्नु अनिवार्य छ । २०४६ सालको जनआन्दोलनदेखि ०६२/ ६३ को गणतान्त्रिक आन्दोलन पुष्पलालको ‘संयुक्त जनआन्दोलनको नीति’ मा आधरित भएर अघि बढेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनका एक शीर्ष नेता र विचारकका रूपमा उहाँको देन सदा स्मरणीय रहनेछ ।

पुष्पलालका रचनाहरू अध्ययन गरौं, गराउँ । उहाँको जीवन र संघर्षबाट प्रेरणा लिउँ । संस्थापक महासचिव कमरेड तपाईंलाई एकपल्ट फेरि सलाम र श्रद्धाञ्जली !

प्रतिक्रिया