बुधबार, वैशाख १९, २०८१

आज कुँवर इन्द्रजित सिंहकाे जन्म जयन्ती, काे हुन् उनी ?

सुनील उलक २०८० वैशाख १३ गते १८:३७

आज वैशाख १३ गते कुँवर इन्द्रजित सिंहको ११८औँ जन्म जयन्ती परेको छ । शायद थोरैले मात्र उनको जन्म जयन्तीको बारेमा चासो राख्नेछ । के.आई. सिंह सुदूरपश्चिम डोटीमा जन्मेका भए पनि पोखरामा पनि उनको नामको चर्चा उनको नाममा भएको पुलले गर्दा हुने गर्छ ।

डोटी जिल्लाको डुम्राकोटमा कुँवर नरध्वज शाहीको छोराको रूपमा १९६३ वैशाख १३ मा जन्मेका थिए । बाबुले सुरुमा कुँवर इन्द्रध्वज शाही नाम राखिदिए पनि आफ्नो नाम पछि इन्द्रजित शाही हुँदै कुँवर इन्द्रजित सिंह भए तर उनको सुविख्याती भने के आइ सिंह नामले नै भयो । हालै उनको जन्म भएको डुम्राकोटको इलाकालाई केआईसिंह गाउँपालिका नामाकरण गरिएको छ ।

सानै उमेरमा भारतको लखिमपुर गएका उनी पढाइ सकिए पछि अङ्ग्रेजी सेनामा भर्ती भए । सेनाको जागिर छोडेर होमियोप्याथीका डाक्टर बने । त्यसपछि व्यवसायको सिलसिलामा बर्मा गएर बसे । दोस्रो विश्व युद्धको समाप्ति पछि भारत फर्केर नेपाली सीमा नौटनवामा औषधी दुकान खोलेर बसे ।

नौतनवा बसाइकै क्रममा नेपालीहरू बढी उपचारमा आउने हुँदा उनलाई नेपाल सम्बन्धी ज्ञान पनि बढ्यो साथै नेपाली राजनीतिमा रुचि पनि जाग्यो । राणा विरोधी गतिविधिमा लागेको चाल पाएपछि राणा सरकारले उनलाई नेपाल प्रवेशमा रोक लगाए । राणा विरोधी भएको हुँदा कांग्रेसीहरुको पक्षमा रहेर लडेका थिए । तसर्थ क्रान्तिको समय पश्चिम नेपालको कमान्डरको रूपमा भैरहवाबाट राणा विरोधी मोर्चामा लागिरहे । यता अर्का कमान्डरको रूपमा गोपालशम्शेर राणा पनि थिए ।

वडा हाकिम रुद्रशम्शेरको छोरा भएको हुँदा उनको आफ्नै हैकम थियो । तर यो के.आई. सिंहलाई सह्य भएको थिएन । यी दुई कमान्डर बिचको विवाद साम्य पार्न क्रान्तिका डिक्टेटर रहेका मातृका प्रसाद कोइराला गोरखपुर गए । तर दुवैको बैमनस्यता साम्य पार्न सकेनन् । पार्टी हाइकमाण्डले के.आई. सिंहलाई सम्झाउने कोसिस गरे तर सकेनन् । यसै बिच राजाको दिल्ली आगमन भयो । भारतको सहभागितामा गोप्य रूपमा राणा, राजा र भारतको सम्झौता भयो । राजाको स्वदेशी फिर्ती पछि उनले खुलेरै दिल्ली सम्झौताको विरोध गर्न थाले । राणा शासनको समाप्ति पछि पनि मोहनशम्शेरलाई नै प्रधानमन्त्री बनाइदा उनको चित्त बुझेको थिएन । उनले यसको खुलेरै विरोध गरेका थिए ।

प्रजातन्त्रको घोषणा लगत्तै पश्चिम कमान्डको जिम्मेवारी उनै गोपालशम्शेरलाई दिइयो । यसै बिच बैमनस्यता रहेको गोपाल शमशेरले पश्चिम कमान्डको प्रमुख भए पछि प्रजातन्त्र घोषणा भएको भोलिपल्ट नै २००७ फागुन ८ गते दिउसो ४ बजे उनले भैरहवामा आक्रमण गरे । यो आक्रमणमा नेपाली सेनाका ४ जवानको मृत्यु भयो । साथै के.आई. सिंह समूहका ९ जना मारिए ९ जना समातिए ।

यसको लगत्तै नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरी भोलिपल्टै फागुन ९ गते उनी सहित ३५७ जना समातिए । भारतीय क्षेत्रमा नै लुकेर बसेको हुँदा भारतीय सेनाले समातिए पछि उनलाई नेपालमा सुपुर्दगी गरियो । यसपछि भैरहवा जेलमा रहेका उनी असार २७ मा जेल तोडेर भागे । यसरी भैरहवा जेलबाट भागेका सिंह र अन्य कैदीहरूसँग सेनाका लेफ्टिनेन्ट भगवान् सिंह क्षत्रीको सैनिक समूहले साउन ६ गते ज्यामगढीमा जम्का भेट हुँदा भगवान् सिंहलाई घाइते बनाएर ९ सैनिकलाई पनि अपहरण लग्न सफल भएका थिए । सिंहको समूहले सैनिकहरूको हातहतियार खोसेर भोलिपल्ट नै रिहा गरिदिए ।

गोपालशम्शेरले पठाएका केही सैनिकहरू तथा अन्यलाई जासुसको रूपमा पठाए । सैनिकहरूमा राज दल पल्टनका हवल्दार तेजबहादुर खड्का तथा पाल्पा सेनामा रहेका हवल्दार मानबहादुर कार्की साथै बालकोट गुल्मीका षडानन्द जैसी, जनार्दन जैसी तथा लीलादेवी जैशीले के.आई. सिंहको यात्रा तथा अन्य विवरण उपलब्ध गराउँदै अगाडी बढेका थिए । सरकारले वार्ता गर्न चाहेको छ भन्ने समाचार पठाइयो । वार्ताको प्रतीक्षामा निःशस्त्र बसेका समूहलाई २००८ साउन २५ मा काठमाडौँबाट गएको मेजर क्षत्रबहादुरको सैनिक समूह तथा पाल्पामा रहेको मेजर तोरणशम्शेरको समूहले ढोरपाटन नजिकै भ्याकुर खोलाको घोरभूजीमा समाउन सफल भए ।

के.आई. सिंह वास्तवमा भैरहवा जेलबाट भागेर तिब्बत तर्फ लागेका थिए । उनको साथ भेटिएको नक्सा तथा अन्य कागजातहरूले गर्दा तिब्बत भाग्न लागेको देखिएको थियो । यसरी समातिएका उनी सहितको समूहलाई पछि साउन २७ मा पाल्पामा ल्याइयो । साउनको अन्तमा पाल्पाबाट पोखरा हुँदै काठमाडौँ लग्ने योजना थियो । तर वर्षातको मौसममा हिँडाएर ल्याउँदा के.आई. सिंहको पाइला जुकाको तोकाइ तथा अन्य घाँउहरुले गर्दा हिँड्नै नसक्ने भए पछि दुई हप्ता पोखरामा उपचार गरेर घाउ निको भए पछि बल्ल काठमाडौँ तर्फ लगियो । यसरी अन्तमा भदौ २७ मा उनलाई काठमाडौँ पुर्‍याइयो । काठमाडौँमा के.आई. सिंहलाई सिंहदरबारमा राखियो भने अन्य सहयोगीहरूलाई श्रीमहल, नक्खु तथा सेन्ट्रल जेलमा राखियो ।

भैरहवा जेलबाट के.आई. सिंहलाई भाग्ने अवस्था सिर्जना गर्नु पछाडि पनि केही घटनाचक्रहरु छन् । काठमाडौँमा रहेको काँग्रेसको एउटा समूह के.आई. सिंहलाई ससम्मान रिहा गर्ने र नेपाली काँग्रेस भित्र नै समाहित गर्ने तैयारीमा लागेको थियो । जसको लागी सूर्यप्रसाद उपाध्यायको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो । यसै बिच उपाध्याय खाद्य तथा कृषि मन्त्री बनेको हुँदा छानबिन कार्यमा ढिलाइ भएको थियो ।

अन्ततः मन्त्री कै रूपमा कार्यरत उपाध्यायले गृह मन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई असारको दोस्रो सप्ताह प्रतिवेदन पेस गर्‍यो । प्रतिवेदनको गोप्य रिपोर्टमा सरकारको तर्फबाट सूर्यप्रसाद उपाध्याय भैरहवा जेल गएर के.आई. सिंहलाई भेट गर्ने तथा सम्मानपूर्वक रिहा गर्ने थियो । तर सरकार भित्रकै अर्को समूह भने यसको लागी तैयार थिएन । यदि के.आई. सिंहको प्रवेश काँग्रेसमा भयो भने उ बलियो नेताको रूपमा आउने छ र आफूहरूको पलायन सुरु हुनेछ भन्ने सोचमा ती समूहले जेलमा रहेका सैनिकहरूको सहयोगमा भाग्न सहयोग पुर्‍याइयो । भाग्ने सहयोग गर्ने सैनिकहरूलाई हतियार सहित के.आई. सिंहको समूहमा साथ लाग्न लगाइयो ।

यस घटनामा विरोधी काँग्रेसहरूको एउटा समूह र सीमापारिको भारतीय कम्युनिस्टका स्थानीय नेताहरूको हात थियो भनिन्छ । वास्तवमा के.आई. सिंहलाई बलियो कम्युनिस्टको नेताको रूपमा उभ्याउने आश्वासनमा सरकारको विरुद्ध सशस्त्र आन्दोलन गर्ने उक्साइयो । तर के.आई. सिंह मानेनन् । उनी धेरै हताहतको पक्षमा थिएनन् । तसर्थ चुपचाप तिब्बत तर्फ लाग्ने तैयारीमा लागे ।

के.आई. सिंहलाई जेलबाट भगाउन सहयोग गर्नेहरूमा नीर जङ्ग राणा, कुम्भसिंह गुरुङ तथा गोपालशम्शेर राणाको पनि हात थियो भनिन्छ । के.आई. सिंहको काँग्रेस प्रवेशले अर्कै मोड लिन सक्ने तथा पार्टीमा उनै हाबी हुने डर धेरैमा थियो ।

के.आई. सिंहलाई सिंहदरबारमा थुनिए पनि उनका बलिया सहयोगीहरू रामप्रसाद राई तथा खड्गबहादुर गुरुङलाई अन्यत्र राखिएको थियो । सिंहदरबारमा थुनिदा एक पटक बिपीसँग भेट्न चाहेको भन्थे तर बिपीले भेट्न खोजेनन् । सिंहदरबारमा बिपीको कार्यालयको तल छिँडीमा नै के.आई. सिंह थुनिएका थिए । तर बिपीले गणेशमानलाई नियमित भेट्न लगाए तर आफू भेट्न चाहेनन् । यो रहस्य नै देखिन्छ ।

विद्यार्थी आन्दोलनको क्रममा कार्तिक २० गते चिनियाकाजीको सैनिकको गोलीबाट मृत्यु भएपछि गृहमन्त्रीको हैसियतमा बिपी माथि दबाब सिर्जना भयो । अन्ततः गृहमन्त्री बिपीले राजीनामा दिए । यसरी मोहन शमशेरको नेतृत्वको सरकार २००८ कार्तिक २६ गते ढल्यो । मङ्सिर १ गते मातृकाको नेतृत्वमा नयाँ सरकार बन्यो । मातृकाको सरकार बनेपछि असन्तुष्ट समूहहरू बिपीको सरकार बनाउने कसरतमा लागे ।

२००७ सालको क्रान्तिमा राणा विरुद्ध लड्ने जनमुक्ति सेनालाई प्रजातन्त्र पश्चात् रक्षा दल बनाइएको थियो । यही रक्षा दलको अफसरहरूको साथै ज्ञानबहादुर याक्थुम्बा, बी.बी. चेम्जोङ, सुरवीर राई, डी.बी. राईको समूह राती नै मातृकाको सरकारलाई अपदस्थ गराइ बिपीको नेतृत्वमा सरकार बनाउने उद्देश्य सहितको प्रस्ताव बोकेर बिपी निवास गए । तर रात निकै कटिसकेको हुँदा भोलि सल्लाह गरौला भनेर फिर्ता पठाइदिए । यो समूहको अप्रत्यक्ष रूपमा चेतावनी पनि दिए । यदि तपाइले यो प्रस्ताव अस्वीकार गर्नुभयो भने देशमा फेरी प्रजातन्त्र सङ्कटमा पुग्दैछ । बिपीले मानेनन्, असन्तुष्ट रक्षा दल आक्रोशित बनिरह्यो ।

माघ ४ मा रक्षा दलका विद्रोही मध्यका रामप्रसाद राई तथा अग्नि प्रसाद खरेल समातिए । २००८ को राती रक्षा दलको सिंहदरबारमा रहेको ब्यारेकमा रहेको तीन बटालियनका २७०० जति रक्षा दलका सैनिकले विद्रोहको सुरुवात गरे । रक्षा दलले सबैभन्दा पहिले सिंहदरबार भित्र कैद भएका कैदीहरूलाई मुक्त गर्‍यो । कैदी मध्यका के.आई. सिंहलाई उनीहरूले अगुवाको रूपमा उभ्याए । रामप्रसाद राई एवं अग्निप्रसाद खरेललाई पनि रिहा गराए । समूह बलियो हुँदै गयो ।

रक्षा दलले बिजुली अड्डा कब्जा गरेर राती उपत्यकालाई अन्धकार बनाइदिए । त्यसपछि आकाशवाणी र टेलिफोन पनि कब्जा गरेर सञ्चारबाट बन्देज गराइदिए । रातारात बिद्रोहीहरुले ठिमीको गठ्ठाघर, सानो टुँडिखेलको जङ्गी अड्डा, तोपखाना, हतियार भण्डार, विमानस्थल, मुलुकी खाना तथा सिंहदरबारको सेक्रेटरियट पनि कब्जा गरिसकेका थिए । बिहान सम्ममा सबैजसो प्रमुख कार्यालय रक्षा दलको नियन्त्रणमा आइसकेको थियो । धेरैजसो मन्त्री तथा प्रधानमन्त्री सुरक्षाको लागी राजदरबारमा शरण लिन पुगेका थिए ।

बिहान गणेशमान र टङ्कप्रसादलाई नियन्त्रणमा लिएर वार्ताको लागी राजदरबार पठाए । दरबारमा विद्रोहमा समर्थन नरहेका रक्षा दलका अन्य अफसरहरू पनि पुगिसकेका थिए । राजाले के.आई. सिंहलाई दरबारमा भेट्न आमन्त्रण गरे । तर सिंह भने सुरक्षाको प्रत्याभूति नभएको हुँदा सर्वदलीय सरकारको माग राख्दै बसे । यसरी वार्ताको आश्वासनमा भुलाउँदै गर्दा रक्षा दलका कतिपय सिंहदरबारबाट भागिसकेका थिए । भारतीय प्रधानमन्त्री नेहरुलाई मातृका प्रसादले जानकारी गराइ भारतीय सेनाका २००० सैनिक पठाइदिन आग्रह समेत गरिसकेका थिए । माघ ९ गते बिहान भारतीय समाचार संस्था पिटिआई सम्वाददाताले के.आई. सिंहको अन्तर्वार्ता लिन पनि भ्याइसकेका थिए । उनले गोरखा दल, कम्युनिस्ट सहितको सर्वदलीय सरकार गठन हुनुपर्ने र राजाको नेतृत्व स्वीकार्य रहेको जानकारी दिएका थिए ।

विद्रोही समूहले सिंहको नेतृत्वमा सरकार तथा अग्निप्रसाद खरेल गृहमन्त्री तथा टेकबहादुर मल्ललाई आइजिपी बनाइएको बनाएको घोषणा गरेका थिए । भारतीय सेनाको देशमा प्रवेशको साथसाथै भारतीय हैकम अझै बढ्ने सम्भावना तीव्र भएको आकलन गर्दै दिउसो २ बजे दरबारको प्रत्युत्तरको प्रतीक्षा नगरी के.आई. सिंह आफ्नो विश्वासिलो समूहको साथ सिंहदरबार दक्षिण ढोकाबाट चुपचाप निस्किए । पचली टेकु हुँदै विष्णुमती नदीमा पुगेर नदीको किनारै किनार उत्तर तर्फ लागे । उनले आत्मसमर्पण गरेनन् । आफ्नो विद्रोह रक्तपातपूर्ण बन्न सक्ने तथा भारतीय सरकारको गुलाम बन्नुपर्ने देखेपछि चुपचाप हटे । सैनिकले उनको समूहमाथि कुनै आक्रमण गरेन ।

सिंहदरबार भित्र रहेका रक्षा दलका सैनिकहरूले भने केही बेर गोलाबारी गरे । जसको जवाफी फायरमा सेनाले गरेको गोली प्रहारबाट एक रक्षा दलको सैनिकको मृत्यु भयो भने रक्षा दलको गोलीबाट एक सर्वसाधारणको मृत्यु भयो । करिब १६-१७ घण्टामा नै विद्रोह समाप्त भयो । यस विद्रोहलाई पछि मातृका सरकारले अतिरञ्जित रूपमा प्रचारबाजी गरेर के.आई. सिंह गलत भएको प्रमाणित गर्न खोजे ।

धेरैको अनुमानमा यो विद्रोह रक्षा दलको अस्तित्व समाप्त गर्न सरकारको सैनिकको रूपमा रहेका टेकबहादुर मल्लले बुनेको षडयन्त्रको रूपमा लिने गर्दछ । राणा कालमा समेत जासुसीको भूमिका बहन गरेका टेकबहादुरलाई देश भित्रकै एउटा समूहले परिचालित गरेर एउटै तीरले तीन निशान लगाउन सफल भएको मानिन्छ । यस विद्रोह पछि रक्षा दल खारेज भयो । कम्युनिस्ट पार्टी अवैध घोषित भयो । साथै विद्रोही मानिएका के.आई. सिंह देशबाटै पलायन भयो ।

यसरी सिंहदरबारबाट हिँडेको समूह तिब्बतमा शरणार्थीको रूपमा करिब साढे तीन वर्षको बसाइ पछि चिनिया सरकारको अनुरोधमा नेपालले उनलाई फिर्ता बोलाउन तैयार भयो । २०१२ भदौ २७ मा काठमाडौँ आइपुग्दा लक्ष्मीप्रसाद देवकोटाकाे अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । चीनबाट फर्केका ३१ जनाको समुहलाई स्वागत गर्न ७ वटा जिपको व्यवस्था गराइएको थियो । वीर के.आई. सिंह जिन्दावादको नारा लगाउँदै बजार परिक्रमा गराइएको थियो ।

यसरी काठमाडौँ आगमन पछि २०१२ असोज ८ मा टुँडिखेलमा भाषण गरी सबैको दोषी कोइराला परिवार रहेको जिकिर गरे । यसरी उग्र स्वभावका के.आई. सिंहलाई २०१४ साउन ११ गते राजा महेन्द्रले प्रधानमन्त्रीमा मनोनीत गराए । भारतीय दबाबमा बारम्बार रहेका राजा महेन्द्रले उग्र स्वभावका चिनिया निकट यिनलाई प्रधानमन्त्री बनाएको अनुमान गर्न सकिन्छ । यिनको सरकारमा पशुपतिभक्त माथेमा तथा लक्ष्मीप्रसाद देवकोटा जस्ता व्यक्ति मन्त्री बनेका थिए । जनताको लागी मन लगाएर सरकार चलाउँदै गरेका हुँदा छिट्टै जनताको प्रिय हुन थालेको देखी विरोधीहरू सक्रिय हुन थाले ।

राजा महेन्द्रलाई सरकारलाई बिस्तारै कठपुतली बनाएर आफै सर्वेसर्वा हुन खोज्दै छ भन्ने चुगली लगाउन नरशम्शेर दरबार पुगे । नरशम्शेरको कुरामा विश्वास गर्दै राजाले कार्तिक २९ गते उनको सरकारलाई अपदस्त गराइ सरकारको जिम्मा आफ्नै हातमा लिए । केवल ११२ दिन सरकार चलाउन पाए पनि उनको चर्चा सबैभन्दा बढी हुन गएको देखिन्छ । शायद नेपालको इतिहासमा सबैभन्दा छोटो अवधिका प्रधानमन्त्री यिनै थिए ।

यसरी सच्चा नेपालका भक्त रहे तापनि केही तत्त्वले बदनाम गर्न खोजेका के.आई. सिंह भने पोखरेलीको लागी सदैव चिरपरिचित नाम बन्न पुग्यो । हुन त अधिकांशले वास्तवमा के.आई. सिंह भन्ने को हो भनेर थाहा नपाए पनि कुनै बेला लामा चौरको सुरु भागको रूपमा रहेको दीप र बगरको भीम काली पाटन बिच जोडिएको पुलको नाम के.आई. सिंह पुल हुनुले पनि सबैले सम्झिने गरेको बुझ्नुपर्छ ।

२०१३ सालको तिहार तिर पोखरा आइपुगेका के.आई. सिंहले असहज रूपमा रहेको फड्केमा पुल बनाउन आर्थिक सहयोग गरेका हुँदा नै यो पुलको नाम के.आई. सिंह पुल रहन गएको थियो । उनको यो यात्रा संयुक्त प्रजातान्त्रिक पार्टीको चुनाव प्रचार जस्तै थियो । यो यात्रामा लक्ष्मीप्रसाद देवकोटाको साथ पोखरा आइपुगेका उनले पोखराको बाटुले चौरमा भएको कार्यक्रममा सहभागिता जनाएका थिए भने नालामुखको चौतारामा भाषण पनि गरेका थिए । तिहारको समय पोखरामा रहँदा पोखराका धर्मराज थापा पनि उनको साथ थिए । यिनै धर्मराज थापाको सक्रियतामा पुल बनाउन आर्थिक सहयोग दिएको हुँदा र पछि उनै प्रधानमन्त्री समेत बनेको हुँदा पनि सो पुलको नामाकरण केआइसिंह पुल राख्नमा धर्मराज थापा लागेको थियो ।

यसरी देशको लागी केही चाहने कुँवर इन्द्रजित सिंहको २०३९ असोज १८ गते वहाँको घाँटीको क्यान्सरबाट बैंककमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया