शनिबार, वैशाख २९, २०८१

सबै पुजारी ?

उत्तम पुडासैनी २०७८ मंसिर १ गते १५:५४

नेपालीमा एउटा उखान छ, कुन्नि कस्को घरमा सबै पुजारी । अहिले नेपाली कांग्रेसको नियति त्यस्तै भएको छ । पार्टीको आन्तरिक निर्वाचन आफ्नो पक्षमा पार्न अन्धाधुन्ध क्रियाशील बनाउँदै बुथ प्रतिनिधि निर्वाचनमा पकड जमाएका नेताहरु अब प्रदेश र निर्वाचन क्षेत्र निर्वाचनको तयारीमा जुटेका छन् ।

पार्टी आफैंमा एउटा अनुशासनको पर्याय हो । विचारले पार्टीलाई निर्देशित गरेको हुन्छ, त्यही विचारको जगमा पार्टीले जनमत आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरेका हुन्छन् । पार्टीका सही कार्यकर्ता शिष्ट, भद्र अनि प्रभावशाली हुनुपर्छ । विचारलाई तल्लो तहसम्म सम्प्रेषण गर्नसक्ने क्षमता र दक्षता हुनुपर्छ ।

पार्टीभित्र इतिहासले निकै ठूलो महत्त्व राख्छ । जनताको मनभित्र बस्नुपर्ने भएकाले व्यक्तिगत आचरण र नैतिकताको प्रश्न अहं हुनुपर्छ, पार्टी नेतृत्वमा । एउटै पार्टीभित्रका अनेक विचार समूहबीचको सौहार्दता, समझदारीपूर्ण र हार्दिकतासहितको प्रतिस्पर्धाले पार्टीको आन्तरिक राजनीतिलाई मजबुत बनाएको हुन्छ । पार्टीभित्रै पनि नेतृत्व तहले गुटको वकालत गर्दैनन्, गुटको वकालत गर्दै गर्दा पनि फरक विचार समूहको क्रियाकलापमा समेत उनीहरुको संलग्नता सुनिश्चित हुनुपर्छ । पार्टीभित्रको आन्तरिक छिना झपटी कुनै पनि हालतमा विपक्ष पार्टीसँगको प्रतिस्पर्धाभन्दा अत्यन्तै फरक र सौहार्द हुनुपर्छ ।

कांग्रेस पार्टीको सबैभन्दा मुख्य आकर्षण भनेकै लोकतान्त्रिक संस्कार हो । आजभोलि त गुटका नाममा विवेकलाई बन्धक राख्ने प्रवृत्ति हावी भएको देखिन्छ । रात्रिकालीन संस्कृतिले जरा गाड्दै गर्दा पार्टीको आन्तरिक निर्वाचन निकै महँगो साबित भएको छ । सामान्य मान्छेले आन्तरिक प्रतिस्पर्धासमेत गर्नसक्ने अवस्था अब रहेन । आन्तरिक पार्टीको निर्वाचनमा भोट खरिद-बिक्रीका पाटाहरु लाजमर्दो गरी छरपस्ट हुन थालेका छन् ।

तामाको तुलसी र गीताको किताब राखेर गुटको भोटको प्रतिज्ञा हुन थालेका छन् । यस्ता घृणित चरित्र अन्तर पार्टीभित्र हावी भइरहँदा मान्छेका स्वाभिमान र आत्मसम्मान कहाँ बाँचिरहला त ? मेरो स्वतन्त्रता र मेरो आत्मसम्मान मेरो जीवन जत्तिकै प्यारो हुनुपर्छ । आफ्ना स्वाभिमानलाई बन्धक राख्नेहरु हाम्रा नेता कसरी कहलाउलान् ?

आज हामी जे देख्दै छौं, यसले नेपाली कांग्रेसको भविष्य क्रमशः अँध्यारो सुरुङतर्फ धकेलिँदै छ । पार्टीमा योगदान नै नभएका र पार्टीको विचारसमेत नबुझेकाहरु गुटको भर्‍याङ चढेर हैसियतभन्दा धेरै माथिको सपना बुन्दै गर्दा कठिन दिनमा पार्टी संगठनमा काम गर्नेहरु बाहिरिँदै छन् । पुराना र इतिहास बनाएका नेता-कार्यकर्ता चेपुवामा पारिएका छन् । नेताका निर्देशन मान्ने अनुशासन अब कसैमा रहेन । पार्टीभित्रको द्वन्द्व यति झाँगिएर गयो, त्यसले आगामी निर्वाचनमा घात र अन्तरघातका सिलसिला चरम उत्कर्षमा पुग्ने निश्चित छ ।

खासगरी निर्वाचनमा जित हात पारिसकेका नेताहरुमा आएको व्यवहारिक स्खलन अत्यन्तै डरलाग्दो रह्यो । पार्टीभित्रको गुटको नेतृत्व उनीहरुबाटै भयो, जो आमकार्यकर्ताको ढुकढुकीका रुपमा निर्वाचित भएका थिए । अबको निर्वाचनमा कार्यकर्ताको आक्रोशको निशानी उनीहरुप्रति लक्षित हुने निश्चित जस्तै देखिन्छ ।

पार्टीभित्र अनुशासन हुनुपर्छ, आन्तरिक प्रजातन्त्रको खुला अभ्यास हुनुपर्छ, केही साझा नेताहरु पार्टीभित्र हुनु जरुरी छ, व्यक्तिको स्वतन्त्रतालाई खुला रुपमा छाडिनुपर्छ, गुट उपगुटको राजनीतिक अभ्यासलाई निस्तेज बनाउन निरन्तर प्रशिक्षण कार्यक्रम हुनुपर्छ, पार्टीलाई सामाजिक धरातलमा उभ्याउन सक्ने ब्यक्तिको खोजी हुनुपर्छ, गुटगत भेलालाई अवैध ठहर गर्नुपर्छ, सबै विचारलाई एउटै मन्चबाट राख्नसक्ने वातावरण तयार हुनुपर्छ । नेपाली कांग्रेसभित्र कुन्नि कसको घरमा सबै पुजारी भएका छन् । बेलैमा सबै सचेत भए पछिसम्म पार्टी अनि देशको लोकतन्त्रको साख जोगिएला, होइन भने न रहे बाँस न बजे बाँसुरी…?

प्रतिक्रिया