विपत् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारको समन्वयमा अघि बढाउन सुशासन समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले विपत् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारहरुले आवश्यक समन्वय, साझेदारी र सहकार्यमार्फत् अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बिहीवार बसेको बैठकले विपतको पूर्वानुमान, पूर्व तयारी, प्रविधि, शिक्षा, उपकरण, स्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् । विपत् जोखिम न्यूनिकरण गर्न आवश्यक व्यवस्था एवं पहल गर्न तीनै तहका सरकारहरुसँग समन्वय, साझेदारी र सहकार्य गर्न आवश्यक रहेको सभापति श्रेष्ठले बताइन् ।
साथै उनले विपत् व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखेर विपत् एवं जोखिमका सूचनाको पूर्वानुमान गर्न सक्ने यथार्थ तथ्यांक, सूचना, एवं जानकारी पारदर्शीरुपमा सबै नागरिकहरुले जुनसुकै बेला जहाँ र जहिले पनि प्राप्त गर्न सक्ने गरी आवश्यक प्रवन्ध गर्न गृहमन्त्रालयलाई समितिले निर्देनशन दिएको छ ।
समितिले विपत् व्यवस्थापनको कार्यक्रम सञ्चालन गर्दा सरकारी एवं गैह्रसरकारी पक्ष लगायत नागरिकहरुबीचको सहकार्य साझेदारी कायम गर्दै विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिकालाई साधन स्रोत, प्रविधिक एवं जनशक्तिको प्रवन्धसहित सशक्त र प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको पनि बताइन् ।
त्यस्तै बैठकले नेपाल सरकारबाट घोषणा गरिएका मनाङ र सिन्धुपाल्चोक जिल्लाका विपत् ग्रस्त क्षेत्रहरुलाई विपत् व्यवस्थापनको नमूना क्षेत्रको रुपमा विकास गर्न पनि निर्देशन दिएको छ ।
अहिलेको विपतबाट क्षतिग्रस्त भएको मनाङ र सिन्धुपाल्चोक र दार्चुलालगायत अन्य जिल्ला तथा क्षेत्रहरुमा अवरुद्ध भएका स्थानीय पूर्वाधारहरु शीघ्र मर्मत तथा सुचारु गरी सम्वद्ध निकायहरुबीच समन्वय गर्दै राहत र उद्धार क्षतिपूर्ति गर्ने र (एकीकृत बस्ती) सुरक्षित स्थानमा बस्ती स्थानान्तरणलाई उच्च प्राथमिकता दिँदै उच्च तदरुकताका साथ विपत् जोखिम न्यूनिकरणको कार्यलाई अघि बढाउने र समितिले यसअघि दिएका निर्देशनहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न पनि निर्देशन दिएको सभापति श्रेष्ठले बताइन् ।

प्रतिक्रिया