‘मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेज राखेर जनताको जीवन रक्षा गर्न आवश्यक’

नेपालखोज २०७८ साउन ७ गते २०:४७

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेज राखेर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मनाङ र सिन्धुपाल्चोकमा विशेष प्याकेसहितका कार्यक्रम राखेर त्यहाँका मानिसको जीवन रक्षा गर्नुपर्ने गृहमन्त्री खाँडले बताए ।

गृहमन्त्री खाँडले नागरिकको जीवन रक्षाका लागि नै राज्य बनेको भन्दै जनता पहिलो प्राथमिकतामा हुने बताए । नेपालमा प्राकृतिक विपतहरु हरेक वर्ष कल्पना गरेभन्दा धेरै आइरहेको हुँदा पूर्व सावधानी अपनाउनु पर्ने बताए । गृहमन्त्री खाँडले वातावरणमा आएको परिवर्तन र पृथ्वीमा बढिरहेको तापक्रमको वृद्धिले पनि चुनौतिहरु थपिएको बताए । विकास गरौँ भन्ने सबैको चाहना भए पनि जनतालाई सेवा र सुविधा पुर्‍याउनु पर्ने बाध्यताले प्राकृतिक विपतका घटनाहरु भइरहेको गृहमन्त्री खाँडले बताए ।

उनले भने, “हामीलाई तीव्ररुपमा विकास चाहिएको छ । सबै जनतालाई सेवा सुविधा चाँडै दिऔँ भनेर सोचिरहेका छौँ ।यसले पनि कतिपय ठाउँमा प्राकृतिक विपतहरु बाढी पहिरो वा डुबान भोग्नु परेको छ । नारायणगढ मुग्लिन सडकमा यति ट्राफिक चाप बढ्यो । त्यसैले त्यो सडक साँघुरो भयो । यसलाई फोर लेन बनाउन सकियो भने मात्र पनि जनतालाई सुविधा हुन्थ्यो भनेर पहाड तासियो । झनै भिरालो भएपछि अहिले पहिरो बढेको छ । हाम्रो चाहना विकास र समृद्धिको हो, तर यो चाहना हाम्रो भूगोलअनुसामर कतिपय ठाउँमा मिलेको छैन् ।”

सिन्धुपाल्चोकको बाढीमा परेका अधिकांश घरहरु नक्शा पास नभइ बनाएको पनि बताए । सरकारले घटनाको गहन अध्ययन भन्दा तत्काल जीवनको रक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले मुलुकको कमजोर भू-बनावटले गर्दा भौतिक पूर्वाधराको कुरामा पनि गम्भीर हुनु पर्ने बताए ।

उनले भने, “सिन्धुपाल्चोकको बाढीमा अधिकांश घरहरु नक्शा पास बिनै बनेका रहेछन्, सरकारले नीति नियम बनाएपनि स्थानीय सरकारले पास गरिदिँदो रहेछ, अर्कोकुरा पहाडी भू-भागमा बाटो बनाउने प्रतिस्प्रर्धा जस्तै छ, पहिला मानिसले खन्थे अहिले मेसिनले खन्छ, बाटो बन्छ । मुलुकको कमजोर भू-वनावटले गर्दा भौतिक पूर्वाधमरको कुरामा पनि गम्भीर हुनुपर्छ, यसमा बहस पनि आवश्यक छ र कार्यन्वयन गरेर अघि बढ्नुपर्छ ।”

सिन्धुपाल्चोक र मनाङमा त्यहाँको जीवनलाई सहज कसरी बनाउने भन्ने बारेमा सरकारले विशेष कार्यक्रम ल्याउने खाँडले बताए । साथै मेलम्ची खानेपानीको सुरुङ ट्रायल गर्नका लागि खोलिए पनि बन्द गर्दा भाग्यवश क्षति नभएको बताए ।

प्रतिक्रिया