बुधबार, जेठ १, २०८२

एन्फा अध्यक्षको दाबी- लिग निर्धारित मितिमै हुन्छ

नेपालखोज २०७८ साउन ८ गते ११:४४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट आयोजना हुँदै छ । १४ क्लबमध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंक देखिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुरु हुने बताए ।

ललितपुरका चार क्लबले कोरोना महामारीको विसम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए ।

सोही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितीमा नै लिग हुने बताए ।

सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखि आयोजना गर्ने तालिका एन्फाले यस अघि नै जारी गरेको छ । एन्फाले यस अघि नै पदाधिकारीहरुसँगको छलफलबाट असोज पहिलो साताबाट गर्ने बताइसकेको थियो ।

सोही बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता साउन १५ गतेबाट खुला पनि गरेको थियो । चार क्लबको सहभागिता हुनेमा आशावादी रहेको र आइतबार छलफल हुने बताए ।

लिगमा सहभागि नभए लिग नियामवली अनुसार हुने बताए अध्यक्ष शेर्पाले बताए । असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लब सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुंग्याएको सरस्वती यो सिजनमा हुने छैन । शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया