शुक्रबार, चैत १६, २०८०

आत्महत्या गरे भयो !

राम प्रसाद ज्ञवाली २०७८ साउन ९ गते १०:१२

क्रान्ति गर्दछु भन्छस् तँ आगो जोर्न डराउँछस् !
बाटो खन्दछु भन्छस् तँ ढिस्को फोर्न डराउँछस् !
आँट गर्न नसक्नेले दम्भ नै नगरे भयो !
किन पो बाँच्नु लाछीले आत्महत्या गरे भयो !

फाँड्छु जंगल भन्छस् तँ काँडा देख्दा डराउँछस् !
चढ्छु हिमाल भन्छस् तँ डाँडा देख्दा डराउँछस् !
दुःख खप्न नसक्नेले ध्वाँस नै नछरे भयो !
के बाँच्ने हुतिहाराले आत्महत्या गरे भयो !

खेती गर्दछु भन्छस् तँ खेत खन्न डराउँछस् !
चेतना छर्छु भन्छस् तँ सत्य भन्न डराउँछस् !
श्रम गर्न नसक्नेले खेती नै नगरे भयो !
किन पो बाँच्नु ढोँगीले आत्महत्या गरे भयो !

युद्ध गर्दछु भन्छस् तँ योद्धा बन्न डराउँछस् !
शान्ति छर्दछु भन्छस् तँ बुद्ध बन्न डराउँछस् !
सिन्को भाँच्न नसक्नेले कुरा नै नगरे भयो !
के बाँच्ने डरछेरूले आत्महत्या गरे भयो !

घुम्छु संसार भन्छस् तँ आफैंभित्र हराउँछस् !
विश्वात्मा बन्छु भन्छस् तँ सत्ता ! सत्ता ! कराउँछस् !
सत्तामा विश्व देख्नेले दुर्गन्ध हसुरे भयो !
के बाँच्ने लुब्ध भोगीले आत्महत्या गरे भयो !

प्रतिक्रिया