शुक्रबार, जेठ ४, २०८१

गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !

दीपकिरण खड्का २०७८ वैशाख ११ गते १०:०७

बिहान मनोज दाइ र म हेल्थपोस्ट गएर केही औषधिहरु ल्यायौँ । अंकितलाई कालो चस्मा लगाएर मात्रै हिँड्न विजय दाइले भन्नुभयो । ठूलो स्याब्रुबाट विराट दाइ, अशोक दाइ, मनोज दाइ, विवेक दाइ र सञ्जीव भाइ काठमाडौंका लागि हामीसँग बिदाइ मागे । हामी पनि केहीपछि त्यताबाट निस्कियौँ । अब भने लाङटाङ उपत्यका यात्राका लागि हामी पाँचजना मात्रै थियौँ । गलेका त हामी पनि थियौं तर क्यान्जिन पुग्ने भनेर सपना बुनेर हिँडेका हामी यत्तिकै डगमगाउने वाला थिएनौं । यात्रामा के छुटे, के बिर्से जस्तो पछिसम्म भैरह्यो । नमस्ते होटेलका दाइले पहिरोसम्म केही सामान लगिदिनू भनेर हामीलाई भनेका थिए । ठूलो स्याब्रु सुन्दर बजार लाग्यो, ऐतिहासिक बजारचाहिँ स्याफ्रुबेसीभन्दा ठूलो स्याब्रु रहेछ । चौरीहरु यताउता चरिरहेका थिए, केही मानिस स्याफ्रुबेसीमा रहेका आफन्तको बिहेमा हिँड्दै थिए । ती मानिसहरुसँग हामी केही न केही जिज्ञासा राखेर अघि बढ्थ्यौं । ठूलो स्याब्रुबाट झरेर हामीले दोभान खोलालाई तर्यौ । पुल निकै उचाइमा र बिग्रेकाले डर पनि लाग्यो । भिरको बाटो अलिक अप्ठ्यारो पनि रैछ । झन्डै दुई घण्टाको हिँडाइपछि लाङटाङ खोलाको तिरमा पुगियो । लाङटाङ खोलै खोलाको यात्राले लाङटाङ र क्यान्जिन डुलाउँछ भन्नुहुन्थ्यो होटेलवाला दाइहरू । लाङटाङ खोला हेर्दा पनि सफा देखिन्थ्यो । पहिरो भन्ने ठाउँमा ठूलो स्याब्रुका दाइले पठाएको सामान छाडेर हामी बम्बुतिर तेर्सियौँ ।

लाङटाङ खोला जोडजोडले सुसाइरहेको थियो । “ऊ पारि हेर्नोस् त दाइ, भिर मौरीको चाका ! त्यहाँभन्दा अझै माथि केराको झप्प परेको बगान । पहारामा यसरी पहिलोपल्ट देखियो ।” मैले पारिका पहरातिर देखाउँदै दाइहरुलाई भनेँ । “यो पक्कै पनि चमेरोले गरेको पोलिनेसनको काम हुनुपर्छ ।” अविन दाइको कुरोमा विजय दाइ सही थाप्छ्न् । मिलन भाइ क्यामेरा तेर्स्याई हाल्छन् । केहीबेर उकालो हिँडेपछि हामी बम्बु-१,९७५ पुग्छौं । त्यहाँको दिदीलाई ठूलो स्याब्रुबाट हामीलाई खाना बनाउन भन्दिनु भइसकेको थाहा पाइयो । खाना नपाकुन्जेल हामी खोलाछेउमा बनेको टहरामा बस्यौं । लाङटाङ खोला पारि रतुवा पानी खान आइपुगेको थियो, लङ्गुर रूखमा थियो । हामी निकै रमाइलो मानेर हेरिरहेका थियौं । “आज पहिरोको होटेल किनेको मैले । बूढोले तपाईंहरुलाई च्या खाउँ भनेन ?” खाना पस्कँदै दिदी यसो भन्छिन्- “च्या खाउँ नभने पनि हामीले पानी भरेर खायौं ।” विजय दाइले हाँस्दै भन्नुहुन्छ । “मेरो बूढो लाटो छ भाइ । तल होटेल बेच्ने थाहा भएपछि किनेको । खाना खाने मान्छे त्यताबाट यता पठाउन पनि मिल्छ । एक लाख रातारात जोरजाम गरेर त्यति गरेँ । ठीकै त होला नि है भाइहरू ? भाइहरु आफ्नैजस्तो लागेर भनेको कसैसँग नि कुरो नगर्नू है ।” दिदीले यति भनिसकेपछी हामी सामूहिक “हस् दिदी” भन्छौं । दिदीलाई सहयोग गर्ने एकजना हँसिला भाइ पनि रैछन् । मुसुक्क हाँस्दै हाम्लाई के थप्ने भनेर सोध्न आइरहन्थे । खाना खाइसकेर हामी त्यहाँबाट बिदा भयौं ।

बाटोमा गस्तीमा हिँडेका सेनाहरु भेट भए । “सुक्खा पहिरोहरु खस्न सक्छ, सावधानी भएर हिँड्नुहोला !” भनेर हामीलाई सचेत हुन आग्रह पनि गरे । लाङटाङ खोलाको उकालो चढेर केही पर पुगेपछि झोलुंगे पुल तर्‍यौं । रिभरसाइडको उकालो उक्लेपछि हामीले केही मान्छे पारिको पहिरोतिर दृश्यावोलोकन गर्दै गरेको देख्यौं । “भाइहरु पारि घोरल हेर्नुस् है ।” पारी घोरल पहिरोमा पलाएको झाडीमा चर्दै थियो । छरिएर ३ देखि ४ वटाको संख्यामा देखियो । निकै बेर घोरल हेर्यौं । “बच्चामा म नेसनल जियोग्राफिक’ च्यानल सधैं हेर्थें । घोरललाई हिउँ चितुवाले खान्थ्यो । यो क्षेत्रमा पनि हिउँ चितुवा हुनुपर्छ ।” अविन दाइ घोरल देखेर निकै उत्साहित भएर हामीलाई अनुभूति सुनाउँछ्न् । बिस्तारै उकालो उक्लिँदै जान्छौं हामी । गोरेटोमा फर्कंदै गरेका यात्रीहरु भेटिन्छन् । लाङटाङबाट सामान लिन स्याफ्रु हिँडेका खच्चडहरु घण्टी बजाउँदै झरेको दृश्य पनि गज्जबको थियो ।

उकालो सकिएपछि हामी रिम्चे पुग्छौं । रिम्चेबाट शेर्पा गाउँ र लाङटाङ उपत्यका जाने बाटो छुट्टिने रैछ । त्यहाँ एकैछिन बस्छौं । होटेलवाला दाइ पनि आइपुग्छन् । हामी कुराकानी गर्छौं । “लाङटाङको विशेषता के छ दाइ ?” विजय दाइ सोध्छन् । “लाङटाङ लिरुङ पारिका केटी मान्छेको मुख सुन्दर तर कपाल छोटो हुन्छ, र यताको केटीको सुन्दरता ठीकै तर कपाल लामो हुन्छ ।” हाँस्दै ठट्यौली मुद्रामा भन्छन् । एकैछिन विश्राम लिएर हामी फेरि हिँड्न थाल्छौं । तेर्सो बाटा हिँडेको केही समयपछि हामी लामा होटेल (२,३४० मि.) पुग्छौं । झुपुक्क परेर बनेका होटेलहरु रैछन् । हिँड्दै गर्दा होटेलकै एक दाइले बोलाए, “भाइहरु टाढै ? आज कतासम्म ?”, म भन्छु, “आज हामी लाङटाङ उपत्यका कटाएर मुन्डु पुग्ने लक्ष्यसहित हिँडेको हो दाइ । तर हेरौं कतासम्म पुगिन्छ ।” “ए त्यसो भए ठीकै छ, भाइहरु क्याञ्जिनमा चाहिँ होटेल प्यानोरोमै बस्नु है, मिलाएर गर्न लगाउँछु । केही चिन्ता लिनु पर्दैन ।” यति भन्दै दाइले मलाई कार्ड थमाउँछन् । “हुन्छ नि दाइ ।” भनेर हामी फेरि गफिँदै हिँड्छौं । अब भने बाटो सजिलो आउन थाल्यो । लाङटाङ खोला सुसाउन छाडेको छैनन्, आजको हाम्रो प्रिय साथी नै लाङटाङ खोला भएको छ । अलिक पर पुगेपछि ठूलो पहिरो देखियो । हुन त अजंग पहाड मुन्तिर लाङटाङ जाने ठाउँमा अनगिन्ती ठाउँहरुमा पहिरोहरु देखिए । बर्खामा कति पहिरो खस्दो हो यता भनेर अड्कल काट्दै हिँडियो । रिभरसाइड (२,७६९ मि.) पुगियो । त्यहाँ बसेर चिया खाने कुरो भयो । गफिँदै जाँदा सगरमाथा दुईपटक सफल आरोहण गरिसकेका तेञ्जिङ दाजु पनि कामको सिलसिलामा लाङटाङ आएका रहेछन् । “कोरोनाले पर्यटन व्यवसाय ध्वस्त बनायो । बाँच्नका लागि काम त गर्नैपर्‍यो । जानेको अर्को सीप भनेको बत्तीको काम थियो । त्यसैले यता आइपुगें ।” चिया पिउँदै गफियौं । “आज मुन्डु पुगिएला त दिदी ?” चिया खाइसकेर निस्किँदा हामी होटेलको दिदीलाई सोध्छौं । “मुन्डु त यहाँबाटै अझै ३/४ घण्टा लाग्छ । भोलि क्याञ्जिन पुग्ने भए, आज यतै बसे हुन्छ नि भाइहरु !”

दिदीले उनकै होटेलतिर बस्दिए हुन्छ भन्ने मनाशयसहित हाम्रो प्रश्नको उत्तर फर्काउँछिन् । “बस्न त हुन्थ्यो दिदी, तर सीमित खर्चमा आइयो यता, माथितिर तलका दिदीहरुले चिनेको होटेलतिर बस्ने कुरो पनि छ । फेरि दिन ढल्किसकेको छैन । अझै माथि बस्न पाए, भोलिलाई सजिलो पनि हुन्थ्यो ।” विजय दाइले यति भनिसकेर हामी त्यहाँबाट बिदाइ हुन्छौं । अब भने निकै पुरानो वन सुरु हुन्छ । अग्ला र बडेमानको रूख र रूखमा टाँसिएका झ्याउहरुले हामीलाई पुराना जंगलहरूबीच सफारी गरिरहेको बिम्बित भइरहेको थियो । हिँड्दै जाँदा अब भने हामी उड्ल्यान्ड पुग्छौं । उडल्यान्डबाट अलिक पर्तिर पुगेपछि घोडा र खच्चडलाई विश्राम गर्ने ठाउँ पनि रैछ । जताततै घोडा, खच्चड, याक र नाक चरिरहेको देख्न सकिन्थ्यो । साँझ बिस्तारै पर्न आँट्दै थियो । हामी घोडतबेला (३,००८ मिटर) पुग्यौं । आज भने हतार नगर्ने, बरु यहि रमणीय ठाउँमा रात बिताउने कुरो भयो । झोलाहरु कोठातिर राखेर, फ्रेस भइसकेर हामी आगो ताप्ने कोठातिर लाग्यौं । त्यहाँ अर्को टोली पनि देखिन्थ्यो । गफिँदै जाँदा डाक्टर दिदी पनि भेट भयो । हिमालय एयरलाइन्समै काम गर्ने दाइ, देखि पढाउने टिचरसम्म हुनुहुँदो रहेछ । विजय दाइ र मैले जमेरै गफ गर्यौं । अविन दाइ, मिलन र अंकितचाहिँ सुन्ने टोलीमा थिए । खाना पाकिसकेको जनाउ घण्टी बजेपछि हामी खाना खानतिर लाग्यौं । खाना खाइसकेर हामी सुत्न लाग्यौं । बाहिर जुनेली रातको उज्यालो त थियो नै, हिमाली चिसो हावा पनि बहिरहेको थियो । माहोल शान्त थियो ।

बिहान ७ बजेतिर उठ्यौं । आज त क्याञ्जिन बिस्तारै हिँडे पनि पुगिन्छ भन्ने भएकाले पनि आनन्दानुभूति भएको थियो । “भाइहरु खाना खाने बेलामा मुन्डु पुग्नुहुन्छ । म खाना पकाउन भन्दिराख्छु । गोल्डेन होलिडेज हाम्रै आफन्तको पनि हो, मिलाएर गर्दिन्छ ।” होटेलवाला दिदीले यसो भनेपछि हामीले “हुन्छ” भनेर त्यहाँबाट बिदाई भयौं । बिस्तारै हिँड्न थाल्यौं । आकाशमा कौवा, मैना र बाजहरु मस्त उडिरहेका थिए । अलिक माथि भाले डाँफेको जुधाइ देखियो । मिलनले साँच्चै दुर्लभ तस्बिर खिच्यो । हामीले भाले जुधाइ निकै बेरसम्म हेर्यौं । एक घण्टाको दूरीमा हामी थाङस्याप पुग्यौं । त्यहाँ एकजना बूढो बा मात्रै देखिए । कुराकानी गर्दै जाँदा ह्वाँको छोराहरु, नातिहरु सबै भुइँचालोमा परेका रहेछन् । बूढी, बुहारी र उनी मात्रै बाँचेका रैछन् । बुहारी पनि काठमाडौं रैछन् । भुइँचालो सम्झिएर बुढा बा भावुक भए । “खुसी किन्ने रहर थियो, आँसु बिक्ने सहर भेटिनँ ।” भन्ने पढेको उक्ति यता मिलेको अनुभूति भयो मलाई । अब भने लाङटाङ उपत्यका (३,५०० मि.) देखियो । लाङटाङ साँच्चै आज पनि उजाड छ, ढुंगाहरुको सहर जस्तै ! लाङटाङको गाउँ अलिकति माथि सरेको रहेछ । कोरोना कहरबाट बिस्तारै उठ्दै रहेछ । लाङटाङ उपत्यकाको भूगोल युरोपका कुनै सुन्दर देश भन्दा कम थिएन, छैन ! बर्खामा त लाङटाङ रानी भएर नै बस्छिन् । पाटनमा फुल्ने रंगिचंगी फूलहरु, आकाशमा डुल्ने बादलहरू र हरिया पहाडहरुबीच बगेको लाङटाङ खोला कति सुन्दर देखिन्छ भनेर एउटा हेर्ने यात्रीले मात्रै अनुमान लगाउन सक्छ । मैले कुनै बेला पढेको थिएँ अस्ट्रियाको राष्ट्रिय फूल एडिल्वेस् भन्ने फूल झन्डै लोप भइसकेको थियो । अस्ट्रियनहरुले त्यो फूल लाङटाङमा प्रशस्तै देखें र उनीहरु लाङटाङलाई आफ्नो घरजस्तै गरी माया गर्छन् रे भन्ने सुनेथेँ । लाङटाङको नयाँ बस्ती भएर हामी मुन्डु पुग्यौं ।

मुन्डुमा गोल्डेन होलिडेज होटेल पुग्यौं । होटेलवाला दिदी खाना बनाएर हामी पर्खनुभएको रहेछ । खाना खान थाल्यौं । खाना खाँदा खाँदै हामीले लाङटाङको भुइँचालोबारे सोध्यौं । “लाङटाङ उपत्यका नै उजाड र रुखो भएको त भाइहरुले देख्यो है । लाङटाङका नै १९० जना र विदेशीसहित गर्दा झन्डै ५०० जनाले ज्यान गुमाए ।” दिदीले भनिन् । “पहिरोचाहिँ कसरी गएछ दिदी ?” मैले बीचमै सोधेँ । “लाङटाङ लिरुङमुनि ग्लेसियर रैछ । ग्लेसियर पग्लिएको पानी भुइँचालोसँगै आउँदा त्यसले डरलाग्दो रूप लियो । सबै पुरियो । र त्यसले एउटा सिँगो उपत्यका निल्यो । हाम्रो पनि आफन्तहरू बित्यो ।” यति भन्दै गर्दा दिदी भावुक बन्नुभयो । दिदी मिजासिलो, हँसिलो र छिटो हुनुहुँदो रहेछ ।” अर्को साल फेरि आउँछु, मीत लगाउनु परो दिदी यताको मान्छेसँग । मलाई मिल्ने खालको केटो खोज्नुस् है ।” विजय दाइ भुइँचालोको प्रसंगलाई मोड्छन् । “मेरो बूढो पनि तपाईंजस्तै छन् । तर मीत त हितको साथी बन्नुपरो फेरि है ? उमेर मिले झन् राम्रो हुन्छ । भेटिएसी भन्छु है ।” दिदी भन्छिन्- “खाना मिठो खुवाउनुभयो । लामो यात्रामा खर्च पनि कम थियो, मिलाएर गर्नुभयो । हामी एकदम खुसी छौँ । केएमसी आउँदा अर्कोपटक सम्झिनुस् है ।” यति भनेर हामी दिदीसँग छुट्टिन्छौं ।

बाहिर वेगले हावा चलिरहेको छ । आज पनि हिउँ पर्लाजस्तो छ । बादल कालो बन्दै छ, लाङटाङतिर मडारिँदै छ । बस्तीहरु हेर्दै हिँड्छौं हामी । पातलो तुवाँलो छ आकाशमा । तीनैपट्टि हिमाल टल्किरहेको छ । सिन्धुम उपत्यका (३,५५५ मिटर) को बारीमा याक जोत्दै छन् । याकले जोत्न अर्ह्याउने भाषा रैछन् । घण्टौं हिँडेपछि हिउँ पर्न थाल्यो । अब भने गति अझै बढाउनुपर्छ है नत्र फेदी घटना दोहोरिएला भनेर दाइहरुलाई भनें । हिँडाई सबैको कडा नै थियो । अब भने लाङटाङ खोलालाई पनि तर्ने बेला आउँदै थियो । दाहिनेपट्टि लाङ्सिसा बग्दो रहेछ । लाङटाङ खोला तरेर हामी क्याञ्जिन (३,९०० मिटर) पुग्यौं । पातलो हिउँ पर्दै हामी होटेल पुग्यौं । प्यानोरोमा होटेलका अंकलले हामीलाई कोठा देखाइदिनुभयो । बाहिर चिसो थियो । भित्र आगो ताप्‍न थाल्यौं । एकजना अर्का अंकल पनि थिए । चिनापर्ची भयो । म हेलम्बुको हुँ भन्ने थाहा भएपछि,”मेरो बूढी पनि हेलम्बुको हो, कति राम्री छ है बुढेसकालमा पनि ?” अंकल बूढीतिर हेर्दै ठट्टा गर्छन् ।

गाङ्जाला भञ्ज्याङबाट आमा याङ्री (३,७९१ मिटर) हुँदै हेलम्बु धेरैपटक ओहोरदोहोर गरेको पत्तो पाएपछि, “हजुरले आन्टीलाई नै गाङजाला पास हुँदै ल्याएको त हैन नि ?” मैले यसो भन्दै गर्दा अरु टोली पनि हाँस्न थाले । “कोरोनाको बेला के गर्नुभयो ?” अविन दाइले गहन प्रश्न सोधे । “हामी त याला पिकको फेदीमा गएर बसेको । याला पिक झन्डै ५,५०० मिटरको उचाइमा छ । १०/१२ जनाको टोली लिएर हामी याला पिक जान्थ्यौं । भुइँचालोबाट बाँचेको कोरोनामा मरिने हो कि भन्ने डर लाग्यो ।” ती अंकलले यसो भने । “तपाईं डाक्टरहरुलाई त रोग लाग्दैन होला है ?” बडा सरल भएर एकदम निर्दोष तरिकाले यो प्रश्न सोधे ती अंकलले । “लुगा सिउनेको लुगा नि फाट्छ नि है बा ? त्यस्तै त हो नि हाम्रो डाक्टरी पनि ।” विजय दाइ यसरी बुझाउँछन् । बिहान सबेर उठ्ने प्रण सहित हामी ढल्किनतिर लाग्छौं ।

क्रमश :
(नियात्राको चौथो अर्थात् अन्तिम भाग आगामी शनिबार अर्थात् २०७८ वैशाख १८ गते प्रकाशन हुनेछ ।)

अघिल्ला भागहरू:
नियात्रा-१: गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !
नियात्रा-२: गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !

प्रतिक्रिया