सोमबार, जेठ ६, २०८२

‘समयमै मल पाए धान उत्पादन १० देखि १२ प्रतिशत बढ्छ’

मीना साउँद २०७८ साउन ९ गते १७:३५

काठमाडौं । नेपालमा साउनको पहिला साता (साउन ६ गते) सम्म जम्मा ८८ दशमलव ७५ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार साउन ६ गतेसम्म देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलको जम्मा ८८ दशमलव ७५ प्रतिशत रोपाइँ सकिएको हो । जहाँ गत वर्ष सोही अवधिमा ९१ दशमलव ६८ प्रतिशत रोपाइँ सकिएको थियो । नेपालमा कुल १३ लाख ७१ हजार बढी हेक्टरमा धान खेती हुने गरेको छ । त्यसमध्ये साउन ६ गतेसम्म १२ लाख १७ हजार ४११ हेक्टरमा रोपाइँ सकिएको हो ।

नेपालमा यस वर्ष जेठ २८ गते नै मनसुन भित्रिइ सकेको थियो । तर, जुन हिसाबले छिटो भित्रिएको थियो हिसाबले रोपाइँ भएको देखिँदैन । प्रदेशअनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९६ दशमलव ७४ प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम प्रदेश १ मा जम्मा ८० दशमलव शून्य २ प्रतिशत रोपाइँ सकिएको छ । जसमा सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ६४ हजार ६३९ हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशमा कुल २ लाख ७५ हजार ९०१ हेक्टरमा धान खेती हुने गर्छ । त्यस्तै, क्रमशः प्रदेश २ मा साउन ६ गतेसम्म ८८ दशमलव १४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । प्रदेश २ मा कुल ३ लाख ६५ हजार ६१५ हेक्टरमा धान खेती हुने गरेकामा हालसम्म जम्मा तीन लाख २२ हजार २६९ हेक्टरमा रोपाइँ भएको छ ।

त्यस्तै, वाग्मती प्रदेशमा साउन ६ गतेसम्म जम्मा ९० दशमलव ३४ प्रतिशत रोपाइँ सकिएको छ । वाग्मती प्रदेशमा कुल १ लाख १५ हजार २९५ हेक्टरमा रोपाइँ हुने गरेको मा हालसम्म जम्मा १ लाख ४ हजार १५२ हेक्टरमा मात्रै रोपाइँ भएको छ । वाग्मती प्रदेशमा भने अघिल्लो वर्षको तुलनामा यस वर्ष ८ प्रतिशतले बढी रोपाइँ सकिएको छ ।

गत वर्ष साउन ६ गतेसम्म वाग्मतीमा जम्मा ८२ दशमलव २२ प्रतिशत रोपाइँ सकिएको थियो । त्यस्तै, गण्डकी प्रदेशमा हालसम्म ८७ दशमलव ६४ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा कुल १ लाख ८ हजार २७८ हेक्टरमा धान खेती हुने गरेकामा हालसम्म ९४ हजार ८९१ हेक्टरमा रोपाइँ सकिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ९२ दशमलव २४ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ कुल ३ लाख ३ हजार ५९३ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म २ लाख ८ हजार ३६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । त्यस्तै, कर्णाली प्रदेशमा हालसम्म ९३ दशमलव ८२ प्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा जम्मा ३८ हजार ३८५ हेक्टरमा मात्रै धान खेती हुने गरेको छ, जसमा हालसम्म ३६ हजार १२ हेक्टरमा रोपाइँ भएको छ ।

कृषि विभागको तथ्यांकमै आशंका
नेपालमा अझै पनि धेरै किसानले धान खेतीका लागि आकाशे पानीको भर पर्नुपरेको छ । सरकारले प्रतिबद्धता गरेअनुसार अझै पनि सबै ठाउँमा सिँचाइको सुविधा पुर्‍याउन सकेको छैन । जसले गर्दा अझै धेरै किसानले खेत रोपाइँ गर्नका लागि आकाशे पानीको भर पर्नुपर्छ । सिँचाइँ सुविधा भएका स्थानहरूमा किसानहरूले चाँडै रोपाइँ सुरु गरे पनि सिँचाइ नपुगेका ठाउँका किसानले धान रोप्न मनसुन पर्खनुपर्छ ।

मनसुन भित्रिनेबित्तिकै किसानलाई रोपाइँको चटारो पर्छ । कुनै-कुनै वर्ष मनसुन ढिला गरी भित्रिएको खण्डमा किसानलाई मर्का पर्छ । समयमै रोपाइँ गर्न नसिकिए उत्पादनमा पनि ह्रास आउने भएकाले समयमा मनसुन नभित्रिएको वर्ष किसान चिन्तामा हुन्छन् । तर, यस वर्ष भने समयमै मनसुन भित्रिएको थियो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई हेर्दा मनसुन छिटो भित्रिएअनुसारको रोपाइँ भएको देखिँदैन । तर, कृषि विभागका पूर्वमहानिर्देशक तथा कृषि विज्ञ डा. डिल्लीराम शर्मा भने विभागको तथ्यांकमै आशंका गर्छन् । देशमा संघीयता लागु भएपछि कृषि विभागको जिल्ला र स्थानीय तहसँग समन्वयनै राम्रो हुन नसक्दा गाउँमा रोपाइँ भए पनि त्यसको तथ्यांक विभागसम्म आइपुगेको नहुन सक्ने उनको भनाइ छ । ‘अहिले देशमा संघीयता लागु भएपछि जिल्ला र स्थानीय तहसँग कृषि विभागको समन्वय नै राम्रो छैन । पहिला कृषि विकास कार्यालय थियो । त्यहाँका सेवा केन्द्र हुन्थे,’ उनले भने, ‘यिनिहरू डाइरेक्ट विभागअन्तर्गत पर्थे र यिनिहरूले रिपोर्ट समयमा सही रिपोर्ट पठाउँथे । तर, अहिले कृषि ज्ञान केन्द्र त जिल्लामा छ । उनीहरूको विभागको डाइरेक्ट कन्ट्याक नै छैन । त्यही भएर रिपोर्ट अहिलेसम्म नआएको होला मेरो विचारमा । रिपोर्ट आउँदै होला । अझै रिपोर्ट नै त्यहाँ आइपुगेको छैन जस्तो लाग्छ मलाई ।’

पहिले विभागको ‘डाइरेक्ट’ समन्वय भएर आए पनि अहिले त्यसो नहुँदा विभागलाई रिपोर्ट नै समयमा प्राप्त हुन नसक्दा तथ्यांकमा रोपाइँ कम भएको देखिएको हुन सक्ने उनको बुझाइ छ । त्यस्तै कोभिडका कारणले पनि रोपाइँ कम भएको हुन सक्ने कृषि विज्ञ शर्मा बताउँछन् । कोभिडका कारण समयमा बीउ अनि मल नपाएर पनि रोपाइँमा ढिला भएको हुन सक्ने तर, यस वर्षको मनसुनलाई हेर्दा हालसम्म देशभर ९० प्रतिशतभन्दा बढी नै रोपाइँ सम्पन्न भइसकेको हुनुपर्ने उनले बताए । यस वर्ष नेपालमा मनसुन समयमै भित्रिएका कारण किसानहरूले समयमा मल पाए धान उत्पादन १० देखि १२ प्रतिशत बढ्ने उनले बताए ।

प्रतिक्रिया