डेढ खर्ब लगानीका उद्योग दर्ता, विदेशी लगानी प्रतिबद्धता घट्यो

काठमाडाैं । नेपालमा एक वर्षका अवधिमा डेढ खर्ब रुपैयाँ स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७७/७८ मा एक खर्ब ५६ अर्ब ६४ लाख रुपैयाँको लगानीमा विभिन्न ६ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।
कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा पाँच अर्ब ३४ करोड ८० लाख रुपैयाँ, ३० ऊर्जामूलक उद्योगमा एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा ८० करोड रुपैयाँ लगानी रहेको छ ।
यस्तै, पूर्वाधारका दुई उद्योगमा एक अर्ब ७३ करोड ८० लाख रुपैयाँ, उत्पादनमूलक ७० उद्योगमा १९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ, खनिज क्षेत्रको एक उद्योगमा १२ करोड ३० लाख रुपैयाँ, सेवामूलक ३३ उद्योगमा पाँच अर्ब ६४ करोड पाँच लाख रुपैयाँ र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा १३ अर्ब ४८ करोड ५ लाख रुपैयाँ लगानी छ ।
घट्यो उद्योग दर्ता
कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको संख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको संख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए ।
उनका अनुसार अघिल्लो आवमा एक खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो ।
घट्यो विदेशी लगानी प्रतिबद्धता
कोरोना माहामारीकै कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको छ । गत आवमा लगानी रकमसँगै उद्योेगको संख्यामा समेत कमी आएको हो ।
गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा लगानीको प्रतिबद्धता आएको छ । यस क्षेत्रमा १०१ उद्योगका लागि रु १८ अर्ब ३१ करोड रुपैयाँबराबरको प्रतिबद्धता आएकोे हो ।
यस्तै, कृषि क्षेत्रमा तीन उद्योगका लागि ५२ करोड ९० लाख रूपैयाँ, ऊर्जामा चार उद्योगका लागि एक अर्ब ५४ करोड रूपैयाँ, सूचना प्रविधिसँग सम्बन्धित १५ उद्योगका लागि दुई अर्ब ९५ करोड रूपैयाँ, १९ उत्पादनमूलक उद्योगका लागि दुई अर्ब ८६ करोड रुपैयाँ र ४१ सेवामूलक उद्योगका लागि पाँच अर्ब ९८ करोड रूपैयाँ बराबरको प्रतिबद्धता आएको हो ।
उक्त लगानी प्रतिबद्धतासँगै पाँच हजार ८३३ जनालाई रोजगारी दिइने भएको छ । नयाँ व्यवस्थानुसार पाँच करोड रुपैयाँभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन ।
न्यूनतम पाँच करोड रुपैयाँभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भए पनि उद्योगको संख्यामा भने कमी आएको विभागले जनाएको छ ।
प्रतिक्रिया