निर्मला हत्या अनुसन्धानबारे प्रधानमन्त्रीले लिए जानकारी, दोषी पत्ता लगाएर तत्काल कारबाही गर्न निर्देशन

नेपालखोज २०७८ साउन १० गते २०:१९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला हत्या प्रकरणको अनुसन्धानबारे जानकारी लिएका छन् । निर्मला हत्याको तीन वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्री देउवाले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संजाल फेसबुकमा गृह मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेको तस्बिर सार्वजनिक गर्दै आफूले निर्माला हत्याका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न पनि निर्देशन दिएको बताएका छन् ।

तीन वर्ष अघि साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्क बिहीन भएकी निर्मलाको बलात्कार पछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।

‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आइतबार दिउँसो महेन्द्रनगर बजारमा र्‍याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघनरुपमा अनुसन्धान भइरहेको जनाएको छ । घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको छ ।

प्रतिक्रिया