प्रदेश सरकार परिवर्तनको कुरा निराधार : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन् । उनले अहिले सरकारको नेतृत्व परिवर्तन गर्ने बेला नभएको बताए ।
पछिल्लो समय प्रदेशका कैलालीलगायत जिल्लामा पुनःकोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले आफूहरु रोकथाम तथा नियन्त्रणमा बढी केन्द्रित भएको उनले जानकारी दिए ।
साथै मुख्यमन्त्री भट्टले सरकार परिवर्तन हुने भन्ने निराधार हल्ला तथा भ्रमका पछि नलाग्न र विकासका योजना तथा महामारी नियन्त्रणका क्षेत्रमा लाग्न सबैमा आग्रह गरे ।
उनले अहिले देशकै राजनीतिक समीकरण परिवर्तन भएकाबेला प्रदेश सरकार हेरफेर भए पनि नौलो कुरा नहुने जानकारी दिए । दुई तिहाइको सङ्घीय सरकार आफ्नै कारणले विघटन भए पनि सुदूरपश्चिम सरकारले एमालेसँगको गठबन्धन प्राथमिकतामा राखेको र यो कुनै पनि हालतमा नटुट्ने उनले जिकिर गरे ।
अन्य प्रदेश सरकारभन्दा कम काम नगरेको जनाउँदै मुख्यमन्त्री भट्टले देशमा सुशासन, जनआकाङ्क्षाको सम्बोधन, भौतिक तथा सामाजिक विकासलगायत सूचकमा दोब्बर वृद्धि गरेको बताए ।
यहाँका अधिकांश जिल्ला सदरमुकाम जोड्ने सडक कालोपत्र नभएका बेला गठन भएको प्रदेश सरकारले तीन वर्षभित्रै प्रत्येक जिल्लाका पालिका जोड्ने सडक कालोपत्र गर्न सफल भएको र कतिपय यहाँका धार्मिक, पर्यटकीय क्षेत्रका सडकसमेत कालोपत्रको तयारीमा रहेको उनको जिकिर थियो । रासस
प्रतिक्रिया