आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेत पत्रको कुरा पठाएको होइन् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र नागरिकलाई बताउँन यथार्थ पत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतङ्क सिर्जना भएको बताएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूसहित अर्थविद्हरूसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेत पत्रको कुरा नउठाएको स्पष्ट पारेका छन् ।
‘श्वेत पत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन । जिम्मेवारी लिँदाको वास्तविक चित्र मात्र देखाउन खोजेको हुँ’, उनले भने, ‘यसैलाई लिएर बजारमा आतङ्क सिर्जना भएको देखियो । आतङ्कित हुनु पर्दैन ।’
मन्त्री शर्माले पुँजीगत खर्च बढाउन अर्थविद्हरूको सुझावअनुसार नै तालिका बनाएर अघि बढ्ने योजना रहेको जानकारी दिए। मन्त्री शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरू बाधक रहको टिप्पणी गर्दै त्यसलाई समयानुकूल बनाउन प्रयत्न गर्ने बताए ।
उनले विकास निर्माणका काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने आवश्यकतासमेत औँल्याए । जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले भने, ‘नागरिकले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन, त्यसैले जनपरिचालनको मोडालिटी बनाउन आवश्यक देखेको छु ।’
उनले छलफल कार्यक्रममा अर्थविद्हरूले दिएका सुझाव मध्येबाट केही न केही परिणाममुखी काम गरिने जानकारी दिए । पारदर्शिताको मामिलामा कसैसँग सम्झौता नगर्ने अठोट व्यक्त गर्दै उनले जिम्मेवारीमा रहँदासम्म दृढ इच्छाशक्तिका साथ काम गर्ने बताए।
कार्यक्रममा डा. विश्वम्भर प्याकुरेलले विकासका आयोजनामा वित्तीय लागत घटाउने गरी काम गर्न सुझाव दिए । उनले पुँजीगत खर्च नहुनु र विकासले गति लिन नसक्नुमा संरचनागत समस्याले जिम्मेवार रहेको बताए। नवनियुक्त अर्थमन्त्रीहरूले श्वेत पत्र सार्वजनिक गर्ने चलन पुरानै रहेको भन्दै उनले त्यसमा आपत्ति जनाउनु बेइमानी हुने धारणा राखे।
डा. खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयनमा संघीय सरकारको चासो कम रहेको आरोप लगाउँदै कर्मचारीतन्त्रको संरचना परिवर्तन गरी प्रदेश र पालिकामा शक्ति विन्यास गर्नुपर्नेमा जोड दिए। डा. हरि रोकाले कोभिडबाट प्रताडित नागरिकका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सुझाव दिए। उनले आयातको क्षेत्रमा लामो समयदेखि सीमित व्यक्तिको सिनिडकेट रहेको भन्दै त्यसलाई तोड्ने साहसिक कदम चाल्नुपर्ने बताए।
डा. रमेश पौडेलले शिक्षालाई उत्पादनसँग जोड्ने खालको शिक्षा प्रणाली स्थापित गर्नुपर्ने बताए। उनले घरमा चार जना डिग्री होल्डर हुने तर बिजुली जोड्न अर्को व्यक्ति बोलाउनु पर्ने खालको शिक्षा प्रणाली रहेसम्म देश विकास हुन नसक्ने धारणा राखे। कृषि क्षेत्रलाई प्रशोधन उद्योगसँग जोड्न सके आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा डा. जनक शाह, चन्द्रमणि अधिकारी, गोविन्द नेपाल, केशव आचार्य, रामकुमार फुँयाल, चन्द्रकान्त पौडे, कुसुम शाक्य, मीनबहादुर श्रेष्ठ लगायतले गठबन्धनमा सामेल दलहरूले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम यथाशीघ्र ल्याउनुपर्ने, संविधानले निर्दिष्ट गरेको समाजवादको साझा अवधारणा तय गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, कोभिड खोप खरिदको कार्यलाई तीव्रता दिनुपर्ने, पुँजीगत खर्च बढाउन नयाँ कार्यक्रमको घोषणा गर्नुपर्ने, आफूलाई स्वाद पर्ने तथ्याङ्क मात्र सार्वजनिक गर्ने परिपाटी अन्त्य गर्नुपर्नेलगायतका सुझाव पनि दिइएको थियो । कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रस्तुति गरेका थिए।
उनले गएको आर्थिक वर्षका लागि ४ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि दर अनुमान गरिएको तर कोभिडको दोस्रो लहरका कारण त्यो लक्ष्य प्राप्त हुन नसक्ने अवस्था रहेको बताए। सचिव ढुंगानाले कोभिड महामारीका बीच राजस्व सङ्कलनको लक्ष्य ९२ प्रतिशत हासिल भएको जानकारी दिए।
उनले गएको आर्थिक वर्षको चालु खर्च ८९ दशमलव ६८ प्रतिशत र पुँजीगत खर्च ६४ दशमलव ७१ प्रतिशत भएको जानकारी दिए । अर्थतन्त्रका मुख्य चुनौतीबारे चर्चा गर्दै सचिव ढुंगानाले गुणात्मक पुँजीगत खर्च बढाउनुपर्ने, राजस्व सङ्कलनमा २२ प्रतिशतले वृद्धि गर्नुपर्ने, वित्तीय अनुशासन कायम गर्नुपर्ने, व्यापारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्ने, बढ्दो व्यापार घाटा घटाउनुपर्ने स्थिति रहेको बताए ।
तस्बिर : रासस
प्रतिक्रिया