मंगलबार, चैत ६, २०८०

आरोपका चाङमाथि राज कुन्द्रा !

नेपालखोज २०७८ साउन १४ गते १४:५५

काठमाडौं । अश्लील चलचित्रको कारोबारमा संलग्न भएको आरोपमा मुम्बई प्रहरीको हिरासतमा रहेका बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्राको समस्या दिन प्रतिदिन बढ्दो छ । राज कुन्द्राको गिरफ्तारीपछि कैंयन् अभिनेत्री तथा मोडलहरुले उनीमाथि गम्भीर आरोप लगाइरहेका छन् । यही लहरमा मोडल तथा अभिनेत्री शर्लिन चोपडा पनि उभिएकी छिन् जसले राज कुन्द्राले आफ्नो यौनशोषण गरेको सनसनीखेज आरोप लगाएकी छिन् ।

मुम्बई क्राइम ब्रान्चले हालै शर्लिन चोपडासँग अश्लील चलचित्र निर्माणको विषयमा सोधपुछ गरेको थियो । त्यसक्रममा शर्लिनले राज कुन्द्राले आफ्नो यौनशोषण गरेको भन्दै प्रारम्भिक उजुरी (एफआईआर) समेत दर्ता गराइन् । अंग्रेजी वेबसाइट जुम डिजिटलका अनुसार शर्लिन चोपडाले राज कुन्द्राविरुद्व भारतीय दण्ड संहिताको धारा ३७६, धारा ३८४, ४१५, ४२० ,५०४ तथा ५०६, ३५४, ५०९ अन्तर्गत यौनशोषणको आरोप लगाउँदै सजायको माग गरेका छिन् ।

आफ्नो उजुरीमा शर्लिन चोपडाले उल्लेख गरेअनुसार सन् २०१९ को मार्चमा राज कुन्द्राका बिजनेस म्यानेजरले एक प्रस्तावमा छलफल गर्न उनलाई बोलाएका थिए जसमा राज पनि सहभागी थिए ।

राज कुन्द्राको नेपाल कनेक्सन : पस्मिनाको ‘डिल’ ले चम्कायो भाग्य !

उजुरीमा भनिएको छ- २७ मार्च, २०१९ को उक्त बिजनेस मिटिङमा एउटा म्यासेजलाई लिएर तिखो बहस पनि भएको थियो । शर्लिन चोपडाको दाबीअनुसार राज कुन्द्रा त्यही विवादको कुरा लिएर बिनाकुनै सूचना उनको घर पुगे । शर्लिनका अनुसार आफ्नो घर आएपछि राजले उनलाई चुम्बन (किस) गर्ने प्रयास गरे जसको उनले विरोध गरिन् । शर्लिन चोपडाका अनुसार उनले आफूले एक विवाहित पुरुषसँग सम्बन्ध राख्न नचाहेको कुरा बताउँदै आफूहरुको व्यावसायिक सम्बन्धमा यस्तो सम्बन्ध मिसाउन उचित नहुने भन्दै प्रतिवाद गरिन् ।

शर्लिनले उजुरीमा भनेकी छन्, ‘मैले राज कुन्द्रासँग उनकी पत्नी शिल्पा सेट्टीका साथ उनको सम्बन्धबारे पनि सोधेकी थिएँ जसको जवाफमा राजले उनको वैवाहिक जीवन निकै जटिल रहेको र घरमा आफू बढीजसो तनावमै रहने बताएका थिए ।’ शर्लिनको दाबी छ- त्यतिबेला उनी राज कुन्द्रालाई धक्का दिएर बाथरुममा जान सफल भइन् र उनले राजले आफ्नो घर नछाडुन्जेल बाथरुममै बिताइन् ।
-भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया