सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन

नेपालखोज २०७८ साउन १४ गते १७:००

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले कोभिड १९ को पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिदैँ सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले आवश्यक भौतिक संरचना एवम् उपकरणको व्यवस्थापन गर्न तथा खोपको प्रवन्ध गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति निरु देवी पालले बताइन् ।

समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्न, बालमैत्री क्वारेन्टीन बनाउन पनि निर्देशन गरेको छ । समितिले बालबालिका सम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी न्यून रहेकाले स्वास्थ्यकर्मीहरुको प्रभावकारी व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको ठाउँमा सेवा गर्नका लागि स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा देखिएको दुविधालाई सम्बोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति पालले भनिन्– ‘कोभिड संक्रमण भएका बालबालिकाहरुको उपचारमा कुनैपनि कारणबाट अभाव हुनै नदिन बालबालिका सम्बन्धी ऐनमा, स्थानीय तहमा बालकल्याण अधिकारी रहने प्रावधानलाई अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउन साथै कोभिडका कारण अनाथ हुन पुगेका बालबालिकाहरुलाई अनिवार्य एवम् व्यवस्थित रुपले संरक्षण प्रदान गर्न, पुर्नस्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र नेपाल बाल अधिकार परिषद्लाई निर्देशन गर्दछ ।’

निषेधाज्ञाका कारण बालबालिकाहरु घरभित्रै सिमित भएकाले उनीहरुको मनोसामाजिक अवस्थाको अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउँदै समितिले डिजिटल संसारमा सक्रिय रहेका बालबालिकाहरुको समग्र विकासमा परेको प्रभाव लगायत विषयमा तथ्यमुलक अध्ययन गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया