‘श्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गर्दिनँ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसैको कमजोरी नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर गरेका छन् । उनले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मूल योजना रहेको दाबीसमेत गरे ।
‘कसैको अवमूल्यन गर्ने काम गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मूल्यांकन गर्न जिम्मा सर्वसाधारणको हो,’ नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री शर्माले भने, ‘आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति गर्यो, कसले कति गरेन पनि भन्दिनँ ।” केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए । ‘श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ,’ मन्त्री शर्माले भने ।
नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुंग्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए ।
‘मौद्रिक नीति रोकेको छैन, विगतलाई गाली गर्ने श्वेतपत्र ल्याउँदिनँ’
भेटका क्रममा उनले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताए । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताए ।
चालु आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ । शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रस्ट्याए । उनले भने, ‘मैले गभर्नर’साबलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नहून् भनेको हुँ ।’
मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तित सहज वातावरणलाई सहज बनाइदिन माग आएको पनि उनले बताए । अर्थमन्त्री शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आफू नेतृत्वमा रहँदा जानीजानी गल्ती नगर्ने बताउँदै उनले अञ्जानमा गल्ती भए सच्याउने सल्लाह दिन अनुरोध गरेका छन् ।
त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले ‘तथ्यमा आधारित नीति’ बनाउन सघाउ पुग्ने बताएका थिए । उनले अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसके पनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताए ।
प्रतिक्रिया