नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न सकिन्न : नेता पोखरेल

नेपालखोज २०७८ साउन १५ गते १७:३४
फाइल तस्बिर

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन् ।

महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्विकार गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।

शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रिय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरुको जोड रहेको पनि स्पष्ट पारे ।

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए ।

उनले पार्टी भित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ ।

महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारीसमेत दिए । यस्तै एमालेले शनिबार (भोलि) पार्टी स्थायी समिति बैठक बोलाएको छ ।

बैठकमा पार्टीको आगामि महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरुले चाहिरहेको महासचिव पोखरेलको भनाइ छ ।

प्रतिक्रिया