मनसुनजन्य विपत् : देशभर १५१ जनाको मृत्यु, १,७०२ परिवार विस्थापित

नेपालखोज २०७८ साउन १७ गते १८:४०

काठमाडौं । नेपालमा गत बैशाख १ देखि साउन १७ गते (आज) सम्म विपतका घटनामा परि देशभर १ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार उक्त अवधिमा १ हजार ३२८ विपतका घटना भएका छन् । जसमा परि ३७ जना वेपत्ता भएका छन् भने ३४२ जना घाइते भएका छन् । १ हजार ७०२ परिवार विस्थापित भएका छन् । नेपालमा यस वर्ष मनसुन छिट्टै भित्रिएको थियो ।

गत जेठ २८ गने भित्रिएको मनसुन असार पहिलो साता नै देशभर सक्रिय भएको थियो । नेपालमा यस वर्ष मनसुनमा औषत भन्दा बढी वर्षा हुने भएकाले विपतका घटना पनि बढी नै हुने मौसमविदले यसअघि नै प्रक्षेपण गरिसकेका थिए । तर, सरकारको तयारी प्रयाप्त हुन नसक्दा मनसुनको सुरुमै विपतका घटनामा परि धेरैले ज्यान गुमाउनु पर्‍यो ।

केही बेपत्ता भए त हजारौ परिवार विस्थापित भए । प्राधिकरणका अनुसार बैशाख १ देखि हालसम्म भएका विपतका घटनमा सबैभन्दा बढी चट्याङ लागेर ३८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, पहिरोमा परि ३४ जना, बाढीमा परि २६ जना, अविरल वर्षामा परि ८ जना, सर्पदंशबाट ११ जना, आगलागीमा परि १२ जना, डढेलोमा परि ३ जना, हावाहुरीबाट १ जना र जनावरको आक्रमणबाट १८ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार १३ सय २८ विपतजन्य घटनाबाट अनुमानित ६३ करोड, ९९ लाख, १६ हजार ९४२ रुपैयाँ क्षति भएको छ ।

प्रतिक्रिया