शनिबार, वैशाख १५, २०८१

‘वायुसेवा कम्पनीको मनपरि भाडा लिने दादागिरी र हैकमवादी प्रवृत्ति बढ्यो’

नेपालखोज २०७८ साउन १८ गते १८:२८

काठमाडौं । कोभिड–१९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ । प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोभिड–१९ महामारीको बेलामा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा चासो राख्दै सरोकारवाला निकायसँग छलफल गरेको छ ।

छलफलका क्रममा सांसदहरुले वायुसेवा कम्पनीहरुले सेवा भाव नराखी महामारीको बेलामा पनि उपभोक्ताहरुसँग बढी भाडा असुलेको बताएका छन् भने वायुसेवासँग सम्बन्धित सरोकारवाला अधिकारीहरुले भने बजारमा आए जस्तो बढी भाडा नलिएको र अनियमितता नभएको बताएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले वायुसेवाहरुलाई व्यापारिकरुपमा हस्तक्षेप गर्ने अधिकार प्राधिकरणको नभएको बताए । उनले कोभिड–१९ महामारीको समयमा वायुसेवाले बढी भाडा लिएको २४ वटा गुनासो आएको र त्यसउपर छानविन भइरहेको बताए ।

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले पनि निषेधाज्ञाको समयमा वायुसेवा निगमले बढी भाडा नलिएको बताएका छन् । उनले आफूहरुले मौकाको फाइदा उठाउने हिसाबले काम नगरेको भन्दै यसबारे निगमबारे कुनै पनि प्रकारको गुनासो नभएको पनि स्पष्ट पारे ।

त्यस्तै, सांसद देवेन्द्र पौडेलले नेपाली नागरिकहरुलाई आपत परेको बेलामा वायुसेवाहरुलाई मानविय भावनाले काम गर्न नसकेको बताए । वायुसेवा निगम घाटामा गए सरकारलाई भन्नु पर्ने र भाडाले संस्था धान्छु भनेर नहुने उनले बताए । आगामी दिनमा वायुसेवाहरुले कमजोरी सच्याउनुपर्ने उनले बताएका छन् । सांसद सन्तकुमार चौधरीले वायुसेवा कम्पनीहरुले दलालमार्फत् टिकट बिकाउनु नहुने बताएका छन् । यसले भाडा बढी पर्न गएको हुँदा ट्राभल एजेन्सीलाई कमिशन दिएर टिकट विकाउने काम बन्द गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, सांसद प्रमोद साहले वायुसेवा कम्पनीको मनपरी भाडा लिने दादागिरी र हैकमवादी प्रवृत्तिका विरुद्धमा सांसद बोल्दा सांसदविरुद्ध मुद्धा चलाइएको भन्दै सर्वसाधारणले झनै बोल्न नसक्ने उनले बताए । महामारीको समयमा नाफामुलक हिसाबले काम गर्ने वायुसेवा कम्पनीहरुलाई सरकारले कारबाही गर्नुपर्ने उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले महामारीको समयमा हवाइ उडानमा हुने अनियमितताबारे जानकारी दिन मन्त्रालयले सूचना जारी गरेको जानकारी दिदैँ दुई वटा ट्राभल एजेन्सीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताए । गुनासोहरुको अध्ययन गर्दै समस्या समाधान गर्न छानविन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने उनले बताए । उनले आगामी दिनमा हवाइ उडानलाई कसरी आम उपभोक्तामाझ सहज बनाउन सकिन्छ भन्ने सम्बन्धमा मन्त्रालयले ध्यान दिने बताए ।

प्रतिक्रिया