गृहमन्त्री भन्छन्- ‘जयसिंह धामी घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानबिन समिति बनाएका छौं’

नेपालखोज २०७८ साउन १९ गते १६:२८
फाइल तस्बिर

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानबिन समिति गठन गरेको बताएका छन् ।

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन सरकारले छानबिन समितिलाई स्थानीय सरकार, प्रदेश सरकार र त्यहाँका जनप्रतिनिधिहरुसँग पनि छलफल गर्न निर्देशन दिएको जानकारी पनि सांसदहरुलाई गराए ।

सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्ष दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गरेका थिए ।

उनले अपराधिक ढंगले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछाेप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाए । एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा बेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गरेका भन्दै आक्रोश व्यक्त गरे ।

यता, जवाफमा गृहमन्त्री खाँणले छानवीन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताए । उनले छानबिन समिति घटनास्थल पुग्ने र त्यसको सत्यतथ्य बाहिर आउने विश्वास समेत व्यक्त गरे । सरकारले सो घटनाको छानबिन गर्न गठित सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिएको छ ।

प्रतिक्रिया