शनिबार, वैशाख १५, २०८१

चोरी भएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

नेपालखोज २०७८ साउन १९ गते १७:१६

काठमाडौं । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाइकल ट्राफिक प्रहरीले सम्बन्धित धनीहरुलाई फिर्ता गरेको छ ।

उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न निरन्तर रूपमा विशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा प्रहरीले उल्लेख्य सफलता हासिल गर्दै आएको छ ।

आज मात्रै विभिन्न मितिमा हराएका २३ मोटरसाइकल एक कार्यक्रमबीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका छन् ।

कार्यक्रममा एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताए ।

उनले सवारीसाधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

कसरी चोरिन्छ त मोटरसाइकल ?

चालकले सुरक्षा अपनाउँदा-अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाईकलहरु कता जान्छ ? कसरी चोरिन्छ ? तपाईको मनमा जिज्ञासा उठ्न सक्छ ।

ट्राफिक प्रहरीको अनुसन्धान अनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्नस् थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ ।

यसरी चोरी गर्नुअघि उक्त मोटरसाइकल र चालकको गतिविधी निगरानी गर्ने, मौकाको खोजि गरी उपयुक्त समयमा विभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन भने संलग्न सदस्यहरुको आ-आफ्नै भुमिका हुने गर्दछ ।

चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैंले समेत चलाउने गरेको, पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

विशेषगरी चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ ।

युवापुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढि भएकोले पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।

सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।

गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

प्रतिक्रिया