कुन मास्क कति प्रभावकारी ?
काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिएसँगै मास्कको प्रयोग गर्ने पनि बढेका छन् । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फैलिनुअघि अस्पतालमा चिकित्सक र एकाध मानिसले धुवाँ धुलोबाट बच्न मात्रै मास्क लगाइने गरेको पाइन्थ्यो । तर, कोरोनाको संक्रमण फैलिएसँगै प्रत्येकका मुखमा अहिले मास्क लगाएको देखिन्छ ।
विश्वमै महामारीका रुपमा फैलिएको कोरोना कहरले हालसम्म विश्वभर ७ लाख ४७ हजार बढीले ज्यान गुमाइसकेका छन् भने हालसम्म २ करोड ५८ लाख बढी संक्रमित छन् ।
कोरोना संक्रमण गत डिसेम्बरको अन्तिम साता २०१९ मा पहिलो पटक चीनको वुहान सहमा देखापरेको थियो । संक्रमण फैलिएको करिब ८ महिनाको अन्तरालसम्म आइपुग्दा यसलाई निर्मुल पार्ने औषधि या भ्याक्सिन विश्वका मै हुँ भन्ने शक्तिशाली राष्ट्रले पनि तयार गर्न सकेको अवस्था छैन । भर्खरै रुसले यसको भ्याक्सिन तयार पारेको दावी गरेता पनि ड्ब्यूएचओले भने त्यसलाई अझै मान्यता दिएको छ्रैन । रुसले तयार पारेको भ्याक्सिनबारे आफुलाई थाहा नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भ्याक्सिनबारे अनुसन्धान गरेर मात्रै यसलाई कोरोनाविरुद्धको औषधिका रुपमा प्रयोग गर्न अनुमति दिने बताएको छ ।
यो अवस्थामा कोरोनाको संक्रमण फैलिनबाट बच्न मास्क गतिलो उपाय बनेको छ । यतिबेला कोभिडबारे सार्वजनिक भइरहेका जनहितमा जारी सूचनाहरूमा पनि साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, भिडभाडबाट टाढै रहने अनि बाहिर निस्कँनुपर्दा नाक–मुखलाई छोप्ने गरि मास्क लगाएर मात्रै निस्कँनु भनिएको हुन्छ ।
कोरोना संक्रमणबाट जोगाउने ब्रम्हाश्त्र भनेकै मास्क रहेकोले यो एकदमै प्रभावकारी रहेको र यसले ७५ प्रतिशत संक्रमण हुनबाट जोगाउन मद्दत गर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् । उनले भने, ‘सुरु सुरुमा मास्कबारे राम्रोसँग अनुसन्धान भएको थिएन जसले गर्दा विश्व स्वास्थ्य संगठनले पनि मास्कले कोरोना संक्रमण रोक्न नसक्ने भनेको थियो । तर, यसबारे पछि विस्तृतमा अनुसन्धान गर्दा मास्कले हावामा भएका स–साना किटाणुलाईसमेत रोक्ने कुरा पत्ता लाग्यो ।’ उनले भने, ‘विश्वका विभिन्न देशमा गरिएको एक अध्ययनले जुन देशका नागरिकले बढी मास्कको प्रयोग गर्छन् त्यो देशका कम नागरिकमा कोरोना देखिएकाले पनि मास्कले कोरोना संक्रमण फैलिनबाट रोक्छ भन्न सकिने अवस्था छ ।’
काठमाडौंका करिब ७२ प्रतिशत मानिसले मास्क लगाउने गरेको एक अध्ययनले देखाएको छ । तर, ती मध्ये करिब ३५ प्रतिशत मानिसले सही तरिकाले मास्क लगाउँदैनन् । जसले गर्दा मास्क लगाउनेलाई सुरक्षित महसुस भएपनि सुरक्षा नहुने भएकाले मास्कलाई नाक र मुख सही तरिकाले छोपिनेगरी लगाउनुपर्ने जनस्वास्थ्य विज्ञ डा.पाण्डे सुझाव दिन्छन् ।
सरकारलेसमेत मास्कको प्रयोग अनिवार्य गरिरहँदा हामीले प्रयोग गर्ने कुन मास्क कति प्रभावकारी भन्ने प्रश्न पनि उठ्छ । मास्कको प्रभावकारिता बारे हालै अमेरिकाको सिकागो विश्वविद्यालयको स्कुल अफ मलिक्युलर इन्जिनियरिङले जाँच गरेको थियो । त्यसक्रममा कोभिड–१९ र मानिसको घाँटीबाट निस्कने अति साना छिटामा हुने विषाणुबाट फैलिने अन्य सरुवा रोगबाट बच्न कटन, सिल्क र अन्य कपडाका बहुपत्रे मास्कहरू, चिकित्सकहरूले प्रयोग गर्ने एन–९५ र सर्जिकल मास्क जत्तिकै प्रभावकारी पाइएको थियो ।
हामीले लगाउने भल्व भएको मास्क साँस फेर्न सहज भएपनि त्यसमा भएको भल्वबाट बोल्दा र साँस फेर्दा हावासँगै किटाणु पनि निस्किने हुँदा त्यो मास्क सकभर नलगाउन जनस्वास्थ्य विज्ञ डा. पाण्डेले सुझाव दिएका छन् ।
अमेरिकाको सिकागो विश्वविद्यालयको स्कुल अफ मलिक्युलर इन्जिनियरिङको एक अध्ययनले कटन र सिफनको पत्र–पत्र परेको मास्क अझ बढी प्रभावकारी रहेको बताएको थियो । मास्कले ३०० नानोमिटरभन्दा सानो वस्तु मानिसको नाक वा मुखभित्र छिर्नबाट रोकेको अध्ययनले देखाएको छ ।
तर, मास्क जस्तो या जुनसुकै भएपनि हाम्रो मुख्य प्राथमिकता भनेको मुख र नाक छोप्ने भएकाले जुन मास्कले नाक र मुख राम्रोसँग छोपिन्छ त्यो नै राम्रो मास्क हो भन्छन् अर्का जनस्वास्थ्य विज्ञ डा.समिरमणी दिक्षित ।
एउटा कोरोना भाइरसको आकार ६० देखि १२० नानोमिटरको हुने वैज्ञानिकहरू बताउँछन् । विश्वका धेरै देश यतिबेला कोरोना संक्रमणलाई पूर्णरुपमा निर्मूल गर्ने औषधि तथा भ्याक्निको खोजिमा लागिपरेका छन् । तर, अझै कुनै देशले यसको औषधी पत्ता लगाउन सकेका छैनन् । त्यसैले विशेषज्ञले भने झैं यतिबेला आफुलाई संक्रमणबाट जोगाउन आफैँ लाग्नु आवश्यक छ । कोरोनाको संक्रमण हुनबाट बच्न पटक–पटक साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, भिडभाडबाट टाढै रहने र बाहिर निस्किनै परे नाक–मुखलाई राम्रोसँग छोप्ने गरी मास्कको प्रयोग गर्ने बानीको विकास गर्न आवश्यक छ ।
प्रतिक्रिया