‘क्रियाशील सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जाऔं’

काठमाडाैं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३औं महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४औं अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ ।
मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले विवादित ठाउँमा १३औं महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो ।
क्रियाशिल सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टिसमेत व्यक्त गरेको छ । व्यक्ति हेरेर नभई विधि, पद्धती र प्रक्रियामा क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताए । उनले भने, ‘जे संविधानले गरेको आधारभुत, संरचनागत सिद्धान्त हो । तदनुरुप क्रियाशिल सदस्यता टुंगो लगाउनुपर्छ । जहाँ जहाँ विवाद भएका छन्, तिनीहरुलाई १३औं महाधिवेशनकै क्रियाशिलतालाई मान्ने गरेर नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्किला प्रारम्भ गरौं भन्ने हो । विधिवत् ढंगले निश्चित मापदन्डकाे आधारमा, वैधानिकताको आधारमा गरौं । त्यसमा को पर्छ, पर्दैन, कुन ग्रुपको हो भन्ने नहेरौं । एउटा विधि, पद्धती र प्रक्रियामा हामी संलग्न भयौं भने त्यसले एउटा बाटो निर्माण गर्छ । पार्टीलाई विधिसम्मत् बनाऔं । पार्टीलाई नीतिमुखि बनाऔं नेतामुखि होइन् । पार्टीलाई विचारमुखि बनाऔँ व्यक्तिमुखि होईन ।’
उनले क्रियाशिल सदस्य वडाबाट नभई आकाश र पतालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नै नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया