मेलम्चीको पानी तत्काल ल्याउन असम्भव

नेपालखोज २०७८ साउन २० गते ६:५०

काठमाडौं । दुईपटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ ।

असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पुर्‍याएपछि आयोजना नै अनिश्चित भएको छ । लेदोसहितको बाढीले हेडबक्स निर्माणस्थल पुरिएर बगर बनेको छ ।

निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘पुरिएका सबै संरचना सफा गर्नुपर्‍यो । वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ । पहिला सडक बन्नुपर्छ, अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन ।’ असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ । खोलाको उचाइ पनि बढिरहेको छ । जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन् । नदीले धार परिवर्तन गरेको खबर गोरखापत्र दैनिकमा छ ।

हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले भने, ‘हिमालको तल्लो भेकमा पहिरो गइरहेका छन् । भेनाथाङमा ठूलो पहिरो गइरहेको छ । अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ । त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ । जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ । मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ ।’

बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन् । पुलहरू बगाएका छन् । निर्माणस्थलमा बालुवा, ढुंगा-गिट्टी थुप्रिएर बगर भएको छ । बाढी आउने र पहिरो जाने क्रम नरोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । तत्काल निर्माणस्थल पुगेर काम सुरु गर्न सक्ने अवस्था छैन । बाटो अवरुद्ध भएका कारण कुनै पनि औजार लिएर जान सक्ने अवस्था नरहेको पन्तको भनाइ छ ।

प्रतिक्रिया