आपसी अहंकारले दुई देशको सम्बन्ध अझै शत्रुतापूर्ण
युद्ध र विवादले दुई देशबीचको सम्बन्धमा लागेको धब्बा सफा हुने छाँट नदेखिएको अन्तर्राष्ट्रिय सीमाविद्हरूको दाबी छ ।
सहमतिविपरीत ठूलो संख्यामा सीमा रेखामा चीनले बढी संख्यामा सेना राखेको भन्दै रुष्ट हुँदै आएको छ ।

काठमाडौं । भारत र चीनबीच सीमासम्बन्धी विषयमा वर्षौंदेखि हुँदै आएको विवाद अझै नरोकिने संकेत देखिएको छ । दुई देशबीच सीमाको विषयलाई लिएर शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ । दुई ठूला शक्ति राष्ट्रहरू एक-अर्कालाई हातहतियार र शक्तिको अहंकारपूर्ण व्यवहार देखाइरहेका छन् । जब सम्बन्ध अहंकारमा रुपान्तरण हुन्छ, तब सुमधुर सम्बन्ध लामो समयसम्म शत्रुतामा रुपान्तरण हुन्छ ।
उसो त चीन र भारतसँग पनि नेपालको सीमा विवाद नभएको होइन । तर जति बढी भारत र चीनबीच सीमालाई लिएर तनाव छ, नेपालसँग भने धेरै कम छ । भारतको पाकिस्तान र चीनसँग ऐतिहासिक किसिममा ठूला अहंकारपूर्ण युद्ध भएका छन् । युद्ध र विवादका कारण दुई देशबीचको सम्बन्धमा लागेको कालो धब्बा सफा हुने छाँट नदेखिएको अन्तर्राष्ट्रिय सीमाविद्हरूको दाबी छ ।
विशेष गरेर भारत र चीनबीच सीमासम्बन्धी विवाद उत्कर्षमा पुग्दा भिषण युद्ध भएका उदाहरण छन् । दुई देशबीच एउटा पुरानो सहमति पनि छ । जुन सहमतिअनुसार सीमा रेखामा बढी संख्यामा सेना राखेर गोली-बारुदको प्रयोग निषेध गरिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार भारत र चीनबीचको तनावमा दुईवटा मुख्य समस्या छन् ।
सन् १९६२ मा युद्ध भएको थियो जसमा भारतले लज्जाजनक पराजय भोगेको थियो ।
जयशंकरका अनुसार पहिलो समस्या सीमा रेखामा चीनले सैनिक क्याम्प राख्दा भएको छ । दोस्रो सीमा रेखामा बढी संख्यामा सैनिक नराख्ने भनेर गरिएको लिखित सहमति चीनले कार्यान्वयन गर्छ वा गर्दैन भन्ने रहेको छ । भारतीय सञ्चारमाध्ममका अनुसार केही दिनअघि भारतका विदेशमन्त्री जयशंकरले उक्त दुई सहमति कार्यान्वयन गर्न चीनसँग प्रस्ताव राखेका थिए । तर जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिआनले भारत र चीनको पश्चिमी क्षेत्रमा सामान्य सुरक्षाका लागि मात्र सैनिक राखेको जवाफ दिएका छन् । यस्तै लिजिआनले कुनै पनि देशले आफ्नो सीमा अतिक्रमण गरे जवाफ दिन र चीनमा हुने कुनै पनि किसिमका खतरा हटाउन मात्र सेना राखिएको स्पष्ट पारेका छन् ।
तर भारत चिनियाँ पक्षको भनाइलाई अलिकति पनि स्वीकार्ने पक्षमा छैन । बरु सहमतिविपरीत ठूलो संख्यामा सीमा रेखामा चीनले बढी संख्यामा सेना राखेको भन्दै रुष्ट हुँदै आएको छ । यही विवादका कारण भारतीय र चिनियाँ सेनाबीच बेलाबेला ठूला झडप पनि हुने गरेका छन् । दुवै देशको टिप्पणीबाट तनाव अझै बढ्न सक्ने संकेत देखिएको छ ।
भारत र चीनबीचको ’लाइन अफ एक्चुअल कन्ट्रोल’ भनिने विवादित सीमा ३,४४० किलोमिटर लामो छ । संसारको सबैभन्दा ठूलो सैन्य शक्ति भएका दुई देशका सैनिकहरू धेरै स्थानमा एक-अर्काको सामुन्ने पर्ने गर्छन् ।
भारतले चीनलाई लद्दाखको गलवान उपत्यकामा हजारौं सैनिक परिचालन गरेको र आफ्नो ३८ हजार वर्गकिलोमिटर भूमि ओगटेको बताउने गरेको छ । भारत र चीनले विगत तीन दशकमा थुप्रैपटक सीमाको तनाव कम गर्न छलफल गरेको भए पनि त्यसले उल्लेख्य नतिजा दिन सकेको छैन ।
दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो जसमा भारतले लज्जाजनक पराजय भोगेको थियो । बेलाबेला सीमा समस्या सुल्झाउन दुई देशबीच वार्ता हुने भनिए पनि वार्ता भएर सकारात्मक नतिजा निस्किने सम्भावना भने निकै कम देखिएको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया