बिहीबार, वैशाख १३, २०८१

स्वामी विवेकानन्द : ‘अभावका संन्यासी कि स्वभावका ?’

सुनील सापकोटा २०७८ साउन २० गते ८:२५

स्वामी विवेकानन्दको बारेमा प्रायः सबैलाई थाहा नै छ होला । त्यसैले उनको बारेमा म धेरै लेख्दिनँ । उनले २३ वर्षको उमेरमा संन्यास लिएका थिए र ३९ वर्ष उमेरको जवानीमै यो दुनियाँबाट बिदा लिए । मलाई लाग्छ यस्तो अल्पायुमा चर्चित र विश्व विख्यात हुने धेरै कम महापुरुषहरु यो दुनियाँ छन् ।

२३ वर्षकै उमेरमा उनले राम कृष्ण परमहंससँग संन्यास लिँदा मानिसहरु उनलाई ‘स्वामीजी अभावका संन्यासी हुन् कि स्वभावका’ भनी प्रश्न गरी कानेखुसी गर्दै उनलाई उडाउँथे रे । हुन पनि उनको परिवारलाई पछिल्लो समयमा ठूलो आर्थिक संकट परेको थियो । हुनत पहिले उनी मध्यम वर्गीय परिवारका थिए । उनको पिताजी कलकत्तामा कानुन पेसामा थिए ।

पारिवारिक झगडा, मुद्दा मामिला र पिताको मृत्युपछि उनको आर्थिक अवस्था अत्यन्तै खराब भयो । परिवारलाई हेरचाह गर्नुपर्ने र पाल्नुपर्ने दायित्व उनको काँधमा आयो । पिताको मृत्यु हुँदाको बखत उनको उमेर २१ वर्षको थियो । आर्थिक संकटकै कारण एउटा स्कुलमा उनले शिक्षकको जागिर खाए । त्यहाँ स्कुलको सेक्रेटरीसँग कुनै विषयमा विवाद हुँदा उनलाई स्कुलको सेक्रेटरीले पढाउनै आउँदैन भनी विद्यार्थीलाई उचालेर स्कुलबाटै निकाल्न लगाए । अचम्मको कुरा यहाँ के छ भने, यस्तो प्रखर विद्वान् जसलाई आज एउटा उपदेशक र शिक्षकका रुपमा दुनियाँले चिन्छ, उनले पनि कुनै बेला अयोग्य ठहर भई पहुँचवालासँग विवाद हुँदा शिक्षकको नोकरीबाट हात धुनुपरेको थियो । त्यसपछि आर्थिक अभावका कारणले उनले फेरि एउटा जमिनदारकहाँ पनि नोकरी गर्नुपर्‍यो ।

एकपटक तेह्रदिने दाजुभाइसँग अंश मुद्दा चल्दा अदालतको कठघरामा न्यायाधीशले सोधपुछ गर्ने क्रममा उनीसँग ‘तिमी के गर्छौ भन्दा, उनले म बेकार छु भनी जवाफ दिँदा न्यायाधीशले पुनः प्रश्न गरे ।

‘सुनिन्छ, तिमी संन्यासी भयौ रे ? कुनै फकिरको चेला भयौ रे ? राम कृष्ण आश्रमका लागि चन्दा उठाउँदै हिँड्छौ रे ? के हो ?’ उनले त्यो बेला न्यायाधीशलाई ‘चेला भनेको के हो थाहा छैन, तर म चन्दा उठाउने कामचाहिँ गर्दिनँ’ भनी जवाफ दिएका थिए ।

त्यस्तै एकपटक उनको बैनीले आत्महत्या गरी मरेको बेलाको समाचार पाउँदा उनी त्यो बेला खुब रोएका थिए । कसैले उनलाई त्यो बेला संन्यासी पनि रुन्छन् ?, तिमीलाई शोभा दिँदैन भनेर सम्झाउँदा- ‘म संन्यासी हुँ त के भो, आफ्नो हृदयलाई नै बिसर्जन गरुँ ?’ भनेका थिए ।

उनी आफ्नो आमालाइ खुब माया गर्थे । उनी जहाँ भए पनि त्यो बेला आमा लाई सय रुपैयाँ रजिस्ट्री गरेर पठाउँथे । संन्यासी हुँदा पनि आमाको, परिवारको खोज-खबर र चिन्ता लिइरहन्थे । उनको कुनै विदेशी केटीसँग प्रेम थियो पनि भनिन्छ । विदेशमा त्यो केटी उनको भाषण सुनेर ‘फ्यान’ भएकी थिई रे । त्यो केटीले उनलाई बेला-बेलामा विदेशबाट आर्थिक सहायता पनि गर्थी । उनी पनि त्यो कन्यालाई बरम्बार पत्र लेखिरहन्थे भन्ने मैले कतै पढेको छु ।

त्यो केटी नाम मलाई अहिले आएन । त्यसले पछिसम्म बिहे नगरेर बसेकी थिई रे । धेरै के लेखुँ । उनको बारेमा लेख्ने कुरा थुप्रै छन् । लामो हुन्छ । कुनैबेला लेखुँला फेरि । अत्यमा, हाम्रो हिन्दु मान्यतामा एउटा संन्यासी कस्तो हुनुपर्छ भन्ने कुराको जुन छवि हामीले बनाएका हुन्छौं, त्यो कुनै पनि संन्यासीमा सायद पाइँदैन होला ।

प्रतिक्रिया