शनिबार, वैशाख १५, २०८१

साउथ इन्डियन फिल्मको झल्को दिने नेपाली राजनीति

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ फागुन १८ गते १४:०२

साउथ इन्डियन फिल्म नेपाली युवामाझ लोकप्रिय छ । साउथका फिल्ममा राजनीतिका खेलहरुलाई एकदमै सामान्य ढंगले प्रस्तुत गरिएका हुन्छन् । साउथका फिल्ममा देखाइने त्यस्ता दृश्यहरु राजनीतिमा लुकीछिपी गरिने कार्यहरु भए तापनि नेपाली राजनीतिमा भने हाकाहाकी गरिने गर्छन् । तसर्थ मलाई नेपाली राजनीति देख्दा साउथका फिल्मको झल्को आउँछ । यो मलाई मात्र लागेको अन्तरको अवाज नभएर धेरै नेपाली युवालाई यस्तो अनुभूति भएको हुनुपर्छ । त्यो अनुभूतिलाई युवाहरुले शब्दको माला नगाँसे पनि म भने शब्दको माला गाँस्ने प्रयत्न गरिरहेको छु ।

भ्रष्टाचार, बेइमानी र छलकपटका शृंखलाहरुलाई साउथका फिल्ममा जसरी देखाइन्छन् त्यो वस्तुतः नेपाली राजनीतिकै खेल जस्तो अनुभूति बारम्बार भइरहन्छ । साउथका फिल्मबाट त्यस्ता शृंखलाहरु हाम्रा राजनीतिज्ञहरुले सिकिरहेछन् वा नेपालको राजनीति देखेर त्यहाँ त्यस्ता कथाहरु बुनिने गर्छन् यसको उत्तर पाउन गाह्रो छ । बेइमानीका करण दस वर्ष जेलमा बसेर, जेलबाट फर्किने क्रममा एउटा नेतालाई लाखौं युवाहरुले झ्यालखानाको गेटमा गरेको स्वागत र फूलमालाको अभिनन्दन कतै देख्नुभयो भने हामी अवश्य नै झुक्किने छौं कि साउथ फिल्मको दृश्य हेर्दै छौं वा नेपाली राजनीतिको तमासा भनेर ।

नेपाली राजनीतिले हामी जनताको आँखामा नुनीलो मुत मुतिरहे पनि हामी त्यो सहन बाध्य छौं किनकी यो त साउथ फिल्मको दृश्य जस्तै छ भन्दै । घमण्ड ईश्र्या र बेइमानी राजनीतिको मूलमन्त्रको रुपमा जसरी साउथ फिल्ममा प्रस्तुत हुन्छ त्यसकै पुनरावृत्ति नेपाली राजनीतिमा हुने गर्छ । मलाई के लाग्छ भने हाम्रा नेताहरु पनि साउथ फिल्मबाट प्रशस्त पाठ सिक्छन् । त्यहाँ देखाइएका दृश्यहरुलाई मूर्त रुप दिन उनीहरु निरन्तर प्रयास गर्छन् । फिल्मका दृश्यलाई वास्तविकतामा उतार्दा नेताज्यूहरुलाई बडो आनन्द आउँछ । या भनौं हाम्रा नेताहारु नै साउथका फिल्मलाई कथावस्तु र पात्र चयनको लागि मार्गप्रशस्त गरिदिन्छन् ।

फिल्महरुले साँच्चै नै यथार्थलाई थोरै बङ्गाएर वा घटाएर वास्तविकतालाई पात्रको रुपमा व्याख्या गर्ने गर्छन् । जस्तो हामी कथा र उपन्यासहरु पढ्दा पात्र र कथावस्तु कुनै न कुनै मान्छेको जीवनसँग मिल्दोजुल्दो पाउँछौं । फिल्ममा पनि कथा र पात्रलाई विभिन्न घटना र संवादका कारण वास्तविक जीवनमा पाइने पात्रसँग मिल्दोजुल्दो बनाइएको हुन्छ । साउथका फिल्ममा नेतागिरि गर्ने पात्रले हिजोसम्म अँगालो हाली हिँडेको व्यक्तिलाई जोडघटाउ नमिल्ने भएपछि लान्छना र आरोप लगाएर जनतालाई भड्काउने काम गरेजस्तै नेपाली राजनीतिको कयौं नखोलिएका पाटाहरुको उद्घाटन पनि नेताहरुले नै गर्छन् र कथाहरु मिल्दाजुल्दा हुन पुग्छन् । यसबाट हाम्रा नेताहरु साउथका फिल्मबाट दीक्षित भएको कुराको अनुमान गर्न सकिन्छ ।

धारावीको गल्लीमा कुखुरा चोरी हिँड्ने एक चोर साउथ इन्डियन फिल्ममा बिस्तारै अपराधको जगमा टेकेर देशको ठूलै नेता बन्दछ । नेपालको राजनीतिमा पनि अपराध नगरी नेता बन्नु फलामको चिउरा चपाउनु भने जस्तै हो । धारावीको गल्लीको चोर राजनीतिको आडमा जसरी आफ्ना अपराधहरु लुकाउन सक्षम हुन्छ त्यस्तै नेपालमा अपराधको घडा भरिएपछि त्यसलाई लुकाउन राजनीतिको आड लिइन्छ । मिलन चक्रे लगायतका पात्रहरु देखिने अपराधमा सक्रिय भएर राजनीतिमा आए पनि स्वनामधन्य नेता कहलिएकाहरु पनि अपराधकै पृष्ठभूमिबाट आएका छन् । भलै तिनलाई चोख्याउन अनेक प्रपञ्च रचिने गर्छ ।

नेपालको प्रम भइसकेका त्यस्ता अनेक नाम छन् जो अपराधको कारण जेलको चीसो हावा खाएर रिहा भएका थिए । कालान्तरमा त्यो अपराधलाई राजनैतिक मुद्दाहरुसँग जोडी देशको लागि जेल बसेको हवाला दिइयो । जसरी साउथका फिल्ममा धेरै मान्छे काट्ने मान्छे धगडान नेता भएर निस्कन्छ त्यसरी नै नेपालको राजनीतिमा मान्छे काट्ने उद्योगमा सम्मिलित भएका मान्छेहरु प्रम बन्ने दाउमा हुन्छन् र बन्छन् । यो देशको दुर्गतीलाई मुकदर्शक बनेर हेर्नुको विकल्प छैन । त्यसैले धारावीको गल्लीको चोर फिल्ममा नेता बन्नु नेपाली राजनीतिकै नाङ्गो दृश्य जस्तो मलाई बारम्बार लागिरहन्छ ।

सत्र हजार टाउकाका अपराधी प्रचण्ड र झापा काण्डका अपराधी ओली राजनीतिको पेरिफेरिमा छन् । मधेस आन्दोलनमा धेरैको टाउका काटेकाहरु मधेसी जनताको रक्षक कहलिएका छन् । थारु आन्दोलनका नाइके रेशम जेलबाट छुटेपछि थारुहरुको नेता हुनेछन् । मनाङ्गे लगायतका टोले अवाराहरु सभासद् छन् । भट्टीमा मान्छे जलाउने आलम अहिले जेलमा रहे पनि मन्त्री भई रजगज गरिसकेका पात्र हुन् । अपराधको मुखुन्डो नखोलिएका त्यस्ता अनेक बदमासहरु छन् जो मुखमा रामराम बगलीमा छुरा लिई हिँडिरहेका छन् । ठग र माफियाहरुको अर्को पाटो छँदै छ । यस्तोमा साउथको फिल्मको झल्को नेपाली राजनीतिले दिँदैन भन्न सकिने ठाउँ छ र ?

गम्भीर भएर सोच्ने हो भने देशको यो दुर्दशा देख्दा आँखाबाट आँशु आउँछ । तर, मनोरञ्जनका हिसाबले यसलाई हेर्ने हो भने साउथका फिल्म नेपाली राजनीतिले फ्लप गराइदिन्छ । मिडिया नामका पसलहरुमा राजनीतिका यी दृश्यहरु चिया बेचेसरी बेचिन्छन् । उहाँले यसो भन्नुभयो , उहाँले यसो गर्नुभयो लगायतका खबरले नेपाली जनता वाक्क, दिक्क, प्याक्क र हप्याक्क भइसकेका छन् । कति हेर्नु यो साउथ इन्डियन फिल्मको झल्को दिने कथाहरु ? जनताले भनिरहेका छन् मिडियाका बन्धुहरुलाई पिलिच अब यी दृश्यहरु नदेखाइदिनुहोस् । यी साउथ फिल्मको झल्को दिने दृश्यहरु नबेचे पनि तपाईंका पसलहरु बन्द हुँदैनन् होला नि ?

प्रतिक्रिया