बिहीबार, चैत १५, २०८०

नेप्से सूचक तथा कारोबार रकम दुवै बढ्यो, १५ अर्ब ५९ करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन २० गते १५:३९

काठमाडौं । नेप्सेको वृद्धिदरले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २६ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि १२ दशमलव १५ अंकले बढेर तीन हजार एक सय २३ दशमलव २४ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७१ अंकले बढेर पाँच सय ७८ दशमलव २३ अंकमा पुगेको छ । आज दुई सय २५ वटा कम्पनीहरुको एक लाख ४४ हजार आठ सय ८७ पटकको कारोबारमा दुई करोड ८८ लाख १३ हजार आठ सय ३१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार दुई सय ७१ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा छवटा समूहको सूचक बढेर सातवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव २९ अंकले बढेर दुई हजार एक सय दुई दशमलव ७० अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि एक सय ९४ दशमलव सात अंकले बढेर तीन हजार पाँच सय ३५ दशमलव २९ अंकमा चढेको छ ।

यीबाहेक विकास बैंक, फाइनान्स, उत्पादनमुलक र लगानी समूहहरुको सूचक पनि बढेका छन् । निर्जीवन बिमा समूहको सूचक भने आज ८२ दशमलव ९८ अंकले घटेर १४ हजार सात सय आठ दशमलव ४६ अंकमा झरेकोमा जीवन बिमा, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष समूहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज खानीखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ६५ रुपैयाँ २० पैसामा कारोबार हुँदा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने चार दशमलव ९६ प्रतिशतले घटेर २३ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अपी पावर कम्पनीको प्रतिकित्ता पाँच सय ६४ दशमलव ३० पैसामा ७९ करोड ४९ लाख ६४ हजार छ सय ५१ रुपैयाँ ३० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया