कांग्रेस क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुंगो लगाउने सहमति

काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।
नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए ।
“अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ ।” संचारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिने क्रममा उनले भने, “यसले निरन्तरता पाउँछ र २/ ३ दिन भित्र टुंगिन्छ ।”
बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४औं महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिलेनै प्रभावित भईहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शिर्ष तहमा यसको टुंगो २ दिनभित्र लगाउने गरी छलफल भईरहेको बताए ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ ।

प्रतिक्रिया