६८ लाखको अवैध समान बरामद, २२ फरार प्रतिवादी पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ ।
प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको एक लाख ६५ हजार ६५७ रुपैयाँको अवैध मालसमान, क.प्र.००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरूपमा ल्याइएको तीन लाख २४ हजार १० रुपैयाँ र चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३-०१०२३ च ७१४२ नम्बरको जीपमा राजस्व छली ल्याइएको दुई लाख ८५७ रुपैयाँ बराबरको अवैध मालसमान बरामद गरेको थियो ।
दाङदेखि जाजरकोटसम्म रा१क ३७ नम्बरको मिनी ट्रकमा राजस्व छली अवैधरूपमा लैजाँदै गरेको तीन ९६ हजार रुपैयाँ, नेपालगञ्जदेखि सुर्खेतसम्म क।प्र।०२००१ ख ०३५१ नम्बरको ट्रकमा ल्याउँदै गरेको पाँच लाख ६८ हजार ३९९ रुपैयाँको अवैध सिमेन्ट सरिया, नेपालगञ्जदेखि भे१ज ९४३ नम्बरको जीप र ना८ख १३७ नम्बरको फोर्स गाडीमा ल्याइएको सात लाख ६६ हजार ८० रुपैयाँ बराबरको अवैध मालसमान बराम गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
त्यस्तै काठमाडौंदेखि जुम्ला जाँदै गरेको ना६ख ६३३८ नम्बरको बसबाट ४० लाख २६ हजार रुपैयाँको अवैध मालसमान बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । राज्यलाई कर छली गरी अवैध मालसमान ओसारपसार गर्नेलाई उच्च निगरानी राख्ने काम गरिएको उनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अदालतको फैसला कार्यान्वयन अभियानअनुसार गएको सातासम्म २२ फरार प्रतिवादी पक्राउ गरेको बताए ।
उनका अनुसार पक्राउ पर्नेमा पाँच महिला र १७ पुरुष छन् । उनीहरुलाई २२ वर्ष आठ महिना २८ दिन कैद र ५९ हजार १ सय रुपैयाँ जरिवाना तोकिएको छ ।
त्यस्तै लागुऔषध ब्राउन सुगरसहित १३ जनालाई पक्राउ र ६७ ग्राम ५१० मिलिग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । त्यस्तै सुर्खेत प्रहरीले जुवाखालबाट दुई लाख १४ हजार रुपैयाँ ९७० बरामद गर्नुका साथै एक महिलासहित आठ जुवाडेलाई पक्राउ गरेको छ ।
एक लाख २३ हजार रुपैयाँको ६१.५ क्युफिट साल सिसौको काठसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया