पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकनको तयारी, हमाल नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकनका लागि कार्यदल बनाएको छ । समितिले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । हमाल समितिका सदस्यसचिव तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक पनि हुन् ।
समितिका अध्यक्ष राजेन्द्र अर्यालका अनुसार हमाल नेतृत्वको कार्यदलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगर, नेपाल पत्रकार महासंघको एकजना प्रतिनिधि र सञ्चार उद्यमी एसोसिएसनहरुका तर्फबाट एकजना प्रतिनिधि रहने छन् ।
समितिको बिहीबार र शुक्रबार दुई दिन बसेको बोर्ड बैठकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो । बैठकले देशमा बढेको महँगी र अन्य क्षेत्रका कामदारको पारिश्रमिक वृद्धि भएको अवस्थामा श्रमजीवी पत्रकारको भने २०७५ सालदेखि पुनरावलोकन नभएको भन्दै समितिले कार्यदल गठन गरेको अध्यक्ष अर्यालले जनाए ।
‘प्रत्येक २ वर्षमा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनरावलोकन हुने भनिए पनि २०७५ सालदेखि हुन सकेको छैन,’ अध्यक्ष अर्यालले भने, ‘पछिल्लो अवस्था र बढ्दो महँगीअनुसार पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारणका लागि सरकारलाई सिफारिस गर्ने गरी समितिले कार्यदल बनाएको हो ।’
कार्यदलको अवधि एक महिनाको रहनेछ । कार्यदलले श्रमजीवी पत्रकार ऐन २०५१ को पूर्णकार्यान्वयन हुन नसक्नुका कारणको विश्लेषणसहितको प्रतिवेदन समितिलाई पेस गर्नेछ । यस्तै बैठकले कोरोना संक्रमणमा जोखिम मोल्दै फ्रन्टलाइनमा रहेर नागरिकलाई सूचना र सन्देश प्रवाह गरिरहेका श्रमजीवी पत्रकारहरुका लागि विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सरकारसँग आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया