रुद्राक्ष व्यवसाय अन्याेलमा

नेपालखोज २०७८ साउन २२ गते २१:०५

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीले अघिल्लो वर्षमा झैं यो वर्ष पनि रुद्राक्ष व्यवसायी अन्योलमा छन् । लकडाउनका कारण रुद्राक्ष आकर्षक बनाउन प्रयोग गरिने औषधि (PBOG, 99) समयमा ल्याउन सकिएन । नेपालमा उत्पादित करिब ७० प्रतिशत रुद्राक्ष चीनमा निर्यात हुन्छ । चीनको बजारमा गुणस्तरीय रुद्राक्ष मात्रै बिक्छ । रुद्राक्षलाई गुणस्तरीय बनाउन उक्त औषधिको प्रयोग गरिन्छ ।

रुद्राक्ष आकर्षक बनाउन प्रयोग हुने उक्त औषधि यो वर्ष पनि प्रशस्त आएन । अलिअलि भएको पनि लकडाउनले गर्दा विभिन्न ठाउँमा गएर प्रयोग गर्न सकिएन । चीनबाट पर्याप्त मात्रामा आएन पनि । अनि थोरै भएको औषधिमा कालोबजारीले महंगो पर्ने भयो । त्यसैले यो वर्ष पनि लगानी उठाउन समस्या हुने व्यवसायीहरु बताउँछन् ।

महंगै भएपनि केही ठाउँमा औषधिको प्रयोग गरेर आकर्षक सामान तयार पारे पनि चिनिया व्यापारी नेपाल आउन नसक्ने स्थिती छ । त्यसैले विगतका वर्षको तुलनामा यो वर्ष झनै रुद्राक्षको भाउमा अवस्य गिरावट आउने व्यवसायी प्रयाग(नविन) गौतम बताउँछन् । उनी थप्छन्,– ‘पोहोर हाम्रो टीमले करिब २० हजार किलो रुद्राक्ष पठाएको थियो । यो वर्ष भने रुद्राक्ष पठाउन नसकिने स्थिती रहेको छ ।

सरकारले हालसम्म यो व्यवसायप्रति कुनै चासो नदेखाएका कारण अवको रुद्राक्ष व्यापार धरासायी बन्ने निश्चित देखिन्छ । एकातिर करोडौंको लगानी गरेर रुद्राक्षलाई गुणस्तर बनाउन औषधिको प्रयोग, अर्कोतिर कोरोनाका कारण व्यवसाय नै अन्यौलमा परेकाले हजारौं व्यवसायीलाई साहुको रकम तिर्न हम्मेहम्मे पर्ने गौतमको अनुमान छ ।

तुम्लिङटारका व्यवसायी कपुर घिमिरे भन्छन्, ‘आकर्षक बनाउन प्रयोग हुने औषधिको पनि लगभग समय सकिइसक्यो । औषधि हाल्न नपाएकाले यस वर्ष पनि रुद्राक्ष व्यवसायीहरुले ठूलो घाटा व्यहोर्नुपर्नेछ । अधिकांश स्थानमा भदौको अन्तिम साताबाट रुद्राक्षको कारोबार भइसक्छ । नेपाल सरकारले रुद्राक्ष व्यवसायलाई विश्वव्यापी बनाउन कसरत गर्नुपर्ने देखिएको छ । रुद्राक्षमा लगाउने करको दायरा बढाएर किसानलाई सहुलियत ऋण उपलब्ध गराउनुका साथै प्रोत्साहनका कार्यक्रमहरु प्रदान गरेर थप उत्पादनमा सहयोग गर्नुपर्ने देखिन्छ ।’

रुद्राक्ष व्यवसायी संघका सचिव पवन जीसी भन्छन्, ‘अघिल्लो वर्ष धेरै रुद्राक्ष बिकेको थियो, यो वर्ष करोडौं लगानी गरिसकिएका रुखहरुमा आकर्षक बनाउन प्रयोग हुने औषधि पर्याप्त मात्रामा छिट्न नपाउँदा रुद्राक्षको गुणस्तरमा ह्रास आउने पक्कापक्की छ । यस्तै अवस्था रह्यो भने लगानी उठाउन पनि मुस्किल पर्नेछ । रुखहरु ठेक्का लिँदा अग्रिम भुक्तानी दिनुपर्ने हुन्छ । हाम्रो लगानी भइसकेको हुन्छ । यस्तो अवस्थामा त्यो लगानी त डुब्ने नै भयो ।

अर्को कुरा भारतीय व्यापारीहरुको उधारोमा काम गर्ने परम्परा नै भइसक्यो । त्यही परम्परा अहिले चाइनीज व्यापारीले पनि सिकेका छन् । त्यसो हुँदा विश्वास गरेर पठाएको सामानको उचित समयमा भुक्तानी नहुने तथा पुरै डुब्ने जस्ता समस्या पनि छन् । यो समस्या अहिलेको महामारीका कारण तल झरेको बजारका कारण नै हो । महामारीले गर्दा बजार लगभग शून्य जस्तै भएपछि यहाँका व्यापारीसँग उधारो दिनेबाहेक अर्को बिकल्प छैन ।’

हालै धनकुटा–२ दमारका कृषक डम्बर पौडेलको करिब १० लाख रुपैयाँ बराबरको रुद्राक्षको रुखमा अज्ञात समूहले विषादी हालेर क्षति पु¥याएको छ । उनको रुद्राक्षको बगानलाई संखुवासभाका व्यापारी अर्जुन निरौलाले प्रतिवर्ष १० लाख रुपैयाँमा ठेक्का लिएका थिए । यो एउटा घटना हो । यस्ता धेरै घटनाहरु रुद्राक्ष व्यवसायीमाथि घटिरहेका हुन्छन् । उनीहरुको तथा रुद्राक्ष व्यवसायको सुरक्षामा सरकारी तवरबाट केही न केही योजना ल्याउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया