हटाइयो गान्धीको नाम, भयो मोदीको आलोचना

नयाँदिल्ली । भारतीय खेल जगत्मा दिइने सबैभन्दा ठूलो खेल पुरस्कार ‘राजीव गान्धी खेल रत्न पुरस्कार’ को नाम परिवर्तन गरिएको छ । उक्त पुरस्कारको नाम अबदेखि ‘मेजर ध्यानचन्द खेल रत्न पुरस्कार’ बनाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले खेल क्षेत्रमा मेजर ध्यानचन्दको योगदानको कदर गर्दै गान्धी परिवारको नाममा राखिएको पुरस्कारको नाम परिवर्तन गरेका हुन् । तर भारतीय प्रधानमन्त्री मोदीको यो निर्णयको सामाजिक सन्जाल र विभिन्न सञ्चारमाध्यममा आलोचना भइरहेको छ । कंग्रेस आईका नेता तथा कार्यकर्ताहरूले राजीव गान्धीको नाम परिवर्तन गरेर अपमान गरेको टिप्पणी गरेका छन् । कतिपयले खेल रत्न पुरस्कार महान् नेताभन्दा पनि महान् खेलाडीको नामबाट दिनुपर्ने मोदीको निर्णय शतप्रतिशत ठीक भएको टिप्पणी गरेका छन् ।
भारतमा हजारौं विभिन्न संरचना, योजना, संघ-संस्था तथा कार्यालयहरूको नाम गान्धी र नेहरू परिवारसँग गाँसिएको छ । यता प्रधानमन्त्री मोदीले भने यो उचित नभएको तर्क गर्दै गान्धीको नाम खेल पुरस्कारको नामबाट हटाएका हुन् । भारतमा अंग्रेज शासन भएको बेला धेरै खेलाडी ब्रिटिस मूलका हुने गर्थे । तर एकजना भारतीय मूलका खेलाडी मेजर ध्यानचन्दले हक्की खेलमा भारतको गौरवपूर्ण इतिहास रची सिंगो भारत राष्ट्रको साथै अंग्रेजहरूको पनि नाक ठाडो पारिदिएका थिए ।
उनले सन् १९२८ र १९३२ को ओलम्पिक हकी खेलमा भारतको तर्फबाट गोल्ड मेडल जितेका थिए । यस्तै १९३६ को ओलम्पिक खेलमा उनले हकी टिमको कप्तान भएर भारतलाई स्वर्ण पदक दिलाएका थिएका थिए । अंग्रेजले शासन गरिहेका बेला भारतीय मूलका व्यक्तिले भारत राष्ट्रको तत्कालीन अवस्थामा इज्जत राखेको भन्दै वर्तमान प्रधानमन्त्री मोदीले पुरस्कारको नाम उनको नामबाट राख्ने निर्णय गरेका हुन् ।
भारतमा राजीव गान्धी खेल रत्न पुरस्कारको सुरुवात सन् १९९१/९२ मा भएको थियो । कंग्रेस आईका चर्चित नेता एवं तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएपछि सम्झनामा राजीव गान्धी रत्न पुरस्कारको स्थापना गरिएको थियो । पुरस्कार स्थापनाको मुख्य उद्देश्य खेल क्षेत्रमा सर्वश्रेष्ठ खेलाडीलाई अझ खेलप्रति जागरुकता प्रदान गर्ने रहेको थियो । भारतमा यो पुरस्कारलाई देश र खेलाडीको सर्वोच्च पुरस्कारका रुपमा लिइने गरिन्छ ।
पीभी नरसिंह राव प्रधानमन्त्री भएको बेला राजीव गान्धी रत्न पुरस्कार दिने नियम बनाइएको थियो । त्यतिबेला पनि परिवारको नाममा पुरस्कारको नाम राखियो भनेर विपक्षी पार्टीहरूले चर्को आवाज उठाएका थिए । अहिले राजीव गान्धीको नामै हटाइएपछि कंग्रेस आई झन् रुष्ट बनेको छ । सन् १९९१ को लोकसभा निर्वाचनपछि प्रधानमन्त्री चयन भएका राजीव गान्धीको हत्या गरिएको थियो ।
हत्या भएको बेला गान्धी परिवारप्रति सबै देशवासीको सहानुभूति थियो । राजीव गान्धी प्रधानमन्त्री हुँदा थोरबहुत खेल क्षेत्रमा योगदान दिएको पाइन्छ । उनले आफ्नो कार्यकालमा दुईवटा ठूला स्टेडियम बनाएका थिए । एउटा जवाहरलाल नेहरू स्टेडियम हो भने अर्को इन्दिरा गान्धी इनडोर स्टेडियम । एउटा स्टेडियमको नाम राजीव गान्धीले हजुरबुबाको नामबाट र अर्को स्टेडियमको नाम आमाको नामबाट राखेका थिए ।
कतिपयले खेल रत्न पुरस्कार महान् नेताभन्दा पनि महान् खेलाडीको नामबाट दिनुपर्ने मोदीको निर्णय शतप्रतिशत ठीक भएको टिप्पणी गरेका छन् ।
भारतमा गान्धी परिवारको नाममा संघ-संस्था, खेल मैदानलगायतको नाम धेरै संख्यामा राखिएको तथ्यांक छ । भारतमा सडक, शिक्षण संस्था, अस्पताललगायत धेरैको नाममा गान्धी परिवार जोडिएको छ । अहिले गान्धी परिवारको नाम जोडिएको खेल पुरस्कार हटाएपछि गान्धी परिवारको नाम के-के मा जोडिएको छ भनेर ठूलो लेखाजोखा भइरहेको छ ।
देशभर ठूला ६४ सरकारी योजना र १२ केन्द्रीय योजनाको नाम गान्धी-नेहरू परिवारसँग जोडिएको छ । यस्तै २८ ठूला टुर्नामेन्ट र ट्रफीको नाममा गान्धी लेखिएको छ । २३ ठूला खेल स्टेडियम, ५ ठूला विमानस्थल र बन्दरगाह र ९८ ठूला शिक्षण संस्थामा पनि गान्धी नाम छ । यस्तै ५१ अलगअलग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि गान्धीकै नाममा दिने गरिएको छ । यस्तै ३९ अस्पताल तथा मेडिकल संस्थान, १५ फेलोसिप, सय बढी ठूला सडक आयोजनाको नाम पनि गान्धी-नेहरू परिवारको नामसँगै जोडिएको छ ।
भारतभरि साढे चार सय बढी महत्त्वपूर्ण स्थानको नाम गान्धी परिवारको नाममा भएको वर्तमान सरकारले तथ्यांक निकालेको छ । सर्वोच्च खेल पुरस्कारबाट गान्धी नाम हटाएका प्रधानमन्त्री नरेन्द्र मोदीको अबका अरु कदम के हुने हुन् सबैको चासोको विषय छ ।

प्रतिक्रिया