सैन्य कमान्डर अर्थात् ‘बूढो बाघ’
सैन्य प्रमुख ‘बूढो बाघ’ उपनामले चिनिने मोहम्मद इस्माइल खान अहिले अफगानिस्तानमा मात्र होइन, विश्वभरै चर्चित छन् ।

काबुल । डाँडामाथिको जूनजस्तै वृद्ध उमेर । सेतो कुर्ता-पाइजामाको पहिरन, टाउकोमा सेतो-कालो पाटे रुमाल, सेतै फूलेको दाह्री अनि कपाल । खुचुमुच्च परेर चाउरिएको ठूलो अनुहार, सग्ला काला आँखा, दूरदर्शी एवं हक्की स्वभाव । उनी हुन् बूढो बाघ । अफगानी गृहयुद्धको लडाइँको मैदानमा सरकारी सेनाको साहसी नेतृत्व गर्दै विरोधी सेनालाई परास्त गर्न सफल हुँदै गएकाले उनलाई अफगानी जनताले बूढो बाघको उपमा दिएका छन् । बूढोबाघ को वास्तविक नाम मोहम्मद इस्माइल खान हो । युद्ध मैदानमा हिँड्ने अफगानी सेनामध्येको पुरानो नाम पनि हो इस्माइल खान ।
सैन्य प्रमुख ‘बूढो बाघ’ उपनामले चिनिने मोहम्मद इस्माइल खान अहिले अफगानिस्तानमा मात्र होइन, विश्वभरै चर्चित छन् । पछिल्लो समय अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना फिर्ताको घोषणा गरेसँगै तालिबान विद्रोही सेनाहरू सरकारी सेनालाई घुँडा टेकाउन हौसिएका छन् । उनीहरूले अफगानी सेनाविरुद्ध तीव्र रूपमा युद्ध छेडिरहेका छन् ।
तालिबानी सेनालाई परास्त गर्ने वाचाका साथ वृद्ध सैनिक कमान्डर मोहम्मद इस्माइल खानले अफगानी सेनाको नेतृत्व गर्दै छन् । अफगानिस्तानमा विद्रोही सेनाविरुद्ध बाघ झैं साहसी भएर युद्धमा होमिएका खान अहिले सरकार पक्ष अनि अधिकांश अफगानी जनताका लागि हाइहाईका पात्र बनेका छन् । उनी अहिले अफगानिस्तानको हेरात प्रान्तमा जारी लडाइँमा साहसी भएर उच्च मनोबलका साथ विद्रोहीविरुद्ध युद्धको नेतृत्व गरिरहेका छन् ।
पछिल्लो दुई सातादेखि जारी भीषण युद्धमा इस्माइल खानले तालिबानविरुद्ध सशक्त रूपमा हतियार उठाएका छन् । आफू मातहतका सेनाको मनोबल उच्च बनाएका छन् । हेरात राज्य नै कब्जा गर्ने रणनीति बनाएका तालिबानविरुद्ध उनले सैन्य कारबाही नरोकिने चेतावनी दिएका छन् । आजभोलि नै हेरात सहर कब्जा गर्ने योजना बनाएका विद्रोहीलाई परास्त गर्दै सहर बचाएको श्रेय इस्माइललाई गएको छ । अफगानिस्तानका जनता, विभिन्न समाचार एजेन्सी र सञ्चारमाध्यमहरूले हेरात सहर मात्र नभइ राज्य नै बचाउने श्रेय खान र उनी नेतृत्वको युद्धलाई दिएका छन् ।
‘यदि सैन्य कमान्डर इस्माइल खान र उनको निर्देशनमा काम गर्ने सेना बफादार नभएको भए हेरात निकै अगाडि विद्रोही तालीबानको कब्जामा गइसक्थ्यो,’ अफगानिस्तान सञ्चारमाध्यमहरूले निष्कर्ष निकालेका छन् । सञ्चारमाध्यमहरूले इस्माइल खान र ‘सार्वजनिक विद्रोही बल’ को वीरतापूर्ण सैन्य कारबाहीले खतरा टरेको र तालिबानी विद्रोहीलाई ठूलो क्षति पुगेको निष्कर्ष निकालेका छन् ।
यता हेरात प्रान्तलाई बूढो बाघ अर्थात सैन्य कमान्डर इस्माइल खानले बचाएको चर्चा भइरहेका बेला अन्य प्रान्तमा भने अफगानी सेना कमजोर देखिएको छ । अफगानिस्तानको शेबरघान प्रान्तस्थित जाजजान सहरलाई नियन्त्रणमा लिएको तालीबान विद्रोही समूहले दाबी गरेको छ । पछिल्लो समय दुईवटा प्रान्तीय राजधानी नियन्त्रणमा लिएको तालिबानको दाबी छ । अन्य सहरमा तालिबान विद्रोहीले कब्जा गरिरहेका बेला हेरात सहरचाहिँ साहसपूर्वक बचाउने इस्माइल खान साँच्चै नै सफल ‘बूढो बाघ’ साबित भएका छन् ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित लेख तथा समाचारमा आधारित)
प्रतिक्रिया