आइतबार, जेठ ६, २०८१

नास्तिकको जनसंख्या १५ प्रतिशत, युरोपमा मुस्लिम बढ्दै

नेपालखोज २०७८ साउन २६ गते ६:२९

काठमाडौं । अहिले विश्वमा चार किसिमका धर्म सम्प्रदाय मान्नेहरू छन् । इसाई, इस्लाम, बौद्ध र हिन्दु गरी चार प्रमुख धर्म मान्नेहरूको जनसंख्या विश्वमा बढी छ । अहिले संसारमा सबैभन्दा धेरै जनसंख्या क्रिस्चियनको छ । त्यसपछि दोस्रो स्थानमा मुस्लिमको छ । तेस्रो स्थानमा चाहिँ नास्तिकहरू अर्थात् कुनै पनि धर्म नमान्ने मानिसहरू छन् । हिन्दु धर्म मान्नेहरूको संख्या चौथो स्थानमा पर्छ ।

विश्वको कुल जनसंख्यामा इसाई धर्म मान्नेहरू ३१ दशमलव १ प्रतिशत छन् । इस्लाम धर्म मान्नेहरू २४ दशमलव ९ प्रतिशत छन् । इस्लाम दोस्रो सबैभन्दा बढी जनसंख्याले मान्ने धर्म हो । हिन्दु धर्मावलम्वी भने १५ दशमलव २ प्रतिशत छन् । यस्तै बौद्ध धर्मावलम्वी ६ दशमलव ६ प्रतिशत छन् । ६ दशमलव ६ प्रतिशत अन्य धर्म मान्नेहरू छन् । विश्वमा कुनै पनि धर्म नमान्ने (नास्तिक) जनसंख्याको प्रतिशत भने १५ दशमलव ६ प्रतिशत छ । उनीहरू कुनै पनि धर्ममा विश्वास गर्दैनन् ।

विश्वमा ५७ देश यस्ता छन्, जहाँ इस्लाम धर्म मान्नेहरू बहुसंख्यक छन् । यी देशमा करिब दुई अर्बको संख्यामा मुसलमान समुदायका मानिस बसोबास गर्ने गर्छन् । धेरैजसो इस्लामिक राज्यमा इस्लाम धर्मको कट्टर विचारधारा मान्ने गरिएको छ । युरोपमा जनसंख्याको हिसाबले सबैभन्दा बढी मुसलमान फ्रान्समा बसोबास गर्ने गर्छन् । जहाँ मुसलमान समुदायको जनसंख्या नौ प्रतिशत छ । अस्ट्रियामा आठ प्रतिशत जनसंख्या मुसलमान समुदायको छ भने बेलायतमा जम्मा जनसंख्याको ६ प्रतिशत मुसलमान समुदायको जनसंख्या छ ।

विश्वका केही मुस्लिम राष्ट्रहरूले इस्लाम धर्मलाई कट्टर विचारका रुपमा मान्दै आएका छन् । विश्वमा धार्मिक जनसंख्याका आधारमा राजनीतिक प्रणालीलाई हेर्ने हो भने जहाँ जुन किसिमको धर्म छ, सोहीअनुसार राजनीतिक प्रणाली बनाइएको छ ।

इस्लाम, हिन्दु, इसाई र बौद्ध धर्म मान्नेहरूको संख्या फरक धर्म मान्नेहरूको देशमा पनि बढ्दै गएको छ । अधिकांश इसाई धर्म मान्ने युरोपियन देशमा इस्लाम धर्म मान्नेको संख्या बढ्दै गएको तथ्यांक छ । युरोपमा सबैभन्दा बढी इस्लाम धर्म मान्नेहरू फ्रान्समा बसोबास गर्छन् भने सबैभन्दा कम पोल्यान्डमा छन् । फ्रान्समा मुसलमानको जनसंख्या नौ प्रतिशत छ भने पोल्यान्डमा शून्य दशमलव १ प्रतिशत मात्रै जनसंख्या छ । यस्तै अस्ट्रियामा आठ प्रतिशत इस्लाम धर्म मान्ने अर्थात् मुस्लिम समुदायको बसोबास छ । अस्ट्रियाको जनसंख्या युरोपमा इस्लाम धर्म मान्नेहरूमध्येकै दोस्रो बढी हो । यस्तै बेलायतमा ६ प्रतिशत मानिस मुस्लिम धर्म मान्नेहरू छन् । यो युरोपमा तेस्रो बढी संख्या हो । युरोपमा इस्लाम धर्म मान्नेहरूको संख्या बढी हुनुको कारणमा जन्मदर उच्च हुनु र अर्को पलायनसम्बन्धी समस्या छ ।

युरोपमा सन् २००६ देखि सन् २०१६ सम्म २९ लाख जनसंख्या मुस्लिम समुदायको देखिएको छ । यही अवधिमा गैरमुस्लिमको जनसंख्या भने १६ लाख कम भएको तथ्यांक छ । सन् २०१० देखि सन् २०१६ सम्म विभिन्न देशबाट पलायन भएर युरोपमा ३४ लाख जनसंख्या छिरेका छन् । यस अवधिमा १२ लाख गैरमुसलमानले मात्रै युरोपमा डेरा जमाएका छन् ।

विश्व जनसंख्याको आँकडाअनुसार युरोपमा मुस्लिम समुदायको जनसंख्या वृद्धिदर मृत्युदरभन्दा निकै बढी छ । संसारमा सबै धर्ममा राजनीतीकरण भएको छ । तर सबैभन्दा बढी इस्लाम धर्मलाई आधार बनाएर राजनीति प्रणालीको विकास गरिएको छ । संसारका जुनसुकै देशले पनि धर्मलाई आधार बनाएर राजनीति गरेका धेरै उदाहरण छन् । अन्ततः यसले विश्वलाई धार्मिक युद्धको खतरातिर नलैजाला भन्न सकिन्न ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लेख तथा समाचारमा आधारित)

प्रतिक्रिया