शनिबार, असार १४, २०८२

पाकिस्तानमा हिन्दु अल्पसंख्यकविरुद्ध ज्यादति

नेपालखोज २०७८ साउन २६ गते १६:०७

पाकिस्तानमा हिन्दुहरु सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय मानिन्छ ।

इस्लामाबाद । पाकिस्‍तानको पन्जाब प्रान्तमा एक हिन्दु मन्दिर तोडफोड हुनुको कारण बनेका आठ वर्षका बालकविरुद्ध प्रहरीले इशनिन्दा कानुनअन्तर्गत मुद्दा चलाएको छ । पाकिस्‍तानको इतिहासमा कुनै आठ वर्षको बालकविरुद्ध इशनिन्दा कानुन प्रयोग गरिएको यो पहिलोघटना हो । रिपोर्टअनुसार, पाकिस्तानी प्रहरीले ती हिन्दु बालकलाई हिरासतमा लिएको छ भने इशनिन्दा कानुनअनुसार उनलाई मृत्युदण्डसम्म हुनसक्छ ।

आरोपअनुसार ती बालकले एक मदरसाको लाइब्रेरीमा पुगेर गलैंचा बिछाइएको ठाउँमा पिसाब फेरेका थिए । दाबा गरिएअनुसार त्यहाँ कैयौं पवित्र पुस्‍तक राखिएका थिए । उक्त कथित घटनापछि स्‍थानीय मौलानाहरुले मुस्लिम कट्टरपन्थीहरुलाई उचालेर पुलिसमाथि कारबाहीका लागि दबाब सिर्जना गरे ।

त्यसपश्चात् पुलिसले बालकलाई हिरासत लिएको थियो । यद्यपि ती बालक जमानतमा रिहा गरिए । उनको रिहाइलगत्तै कट्टरपन्थीहरु भड्किए र सैयौंको संख्यामा भेला भएर एक हिन्दु मन्दिरमाथि धाबा बोले । यो आक्रमणका क्रममा मन्दिर तोडफोड गरियो त्यसको सारा सिसा फुटाइयो अनि अन्ततः कट्टरपन्थीहरुले मन्दिरमा आगोसमेत लगाए ।

पाकिस्तानमा हिन्दुहरु सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय मानिन्छ । आधिकारिक अनुमानअनुसार, पाकिस्तानमा ७५ लाख हिन्दु छन् । यद्यपि हिन्दु समुदायका मानिसहरूकै अनुसार त्यहाँ ९० लाखको बसोबास रहेको दाबी छ ।

ब्रिटिस न्युज पेपर गार्जियनले ती बालकको परिवारका सदस्यहरुसँगको कुराकानी प्रकाशित गरेको छ जसमा उनीहरुले भनेका छन्- यो बालकलाई कानुनको कुनै जानकारी छैन । उसमाथि झुटो आरोप लगाइएको छ । उनले अहिलेसम्म बुझ्न सकेका छैनन् कि उनको अपराध के थियो र उनलाई किन एक साता जेलमा राखियो ? हामी निकै भयभित छौं र हामीले आफ्नो घर पनि छाडिसकेका छौं । हामीलाई लाग्दैन कि दोषीहरुमाथि कुनै कारबाही हुनेछ न त यहाँ बस्ने हामी हिन्दु अल्पसंख्यकहरुको सुरक्षामा कुनै ठोस तथा सार्थक कदम नै चालिनेछ ।

सुप्रिम कोर्टको आदेश
पाकिस्तानको सुप्रिम कोर्टले उक्त मन्दिरको सुरक्षामा असफल भएको भन्दै सरकारी अधिकारीहरुको आलोचनासमेत गरेको छ । पाकिस्तानका प्रधानन्यायाधीश गुलजार अहमदले आफ्नो आदेशमा भनेका छन्- मन्दिर तोडफोडको यो घटना देशकै लागि लज्जास्पद छ किन पनि भने यो घटनाका क्रममा प्रहरी मूकदर्शक रह्यो । प्रधानन्यायाधीशले आठ वर्षीय बालकको गिरफ्तारीमा आश्चर्य प्रकट गर्दै प्रहरीसँग सोधे- किन प्रहरीले यति सानो बालकको मानसिक अवस्था बुझ्न नचाहेको ? पाकिस्तानको संसद्‌ले गएको शुक्रबारै एक प्रस्ताव पारित गरी मन्दिरमाथिको आक्रमणको निन्दा गरिसकेको छ । यो मुद्दाको सुनवाइ अब २३ अगस्तपछि हुनेछ ।

प्रतिक्रिया