‘दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर अगाडी बढ्छौ’

नेपालखोज २०७८ साउन २६ गते १८:४१

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर आफुहरु अगाडी बढ्ने बताएका छन् ।

मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट अंक हाशिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । साथै उनले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्ना पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता जनाएका छन् ।

कर्णालीका आफू पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको उनले बताए । उनले कर्णालीका नेताहरुको साथमा आफू रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गरे ।

उनले भने– ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनु भयो की, उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ । र, मैले भनिसकेको छु तपाईहरुको सदस्यता धरापमा छ भने यदी तपाइहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाईहरु दृढताका साथ अगाडी बढ्नुस् । हामी साथमा छौँ ।’

नेता नेपालले आफूहरु कसैको सामु शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । आफूहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ । उनले भने– ‘हामी अगाडी बढ्छौँ दृढताका साथ । शिर निहुराउने छैनौँ । कसैको टाङमुनि छिर्ने छैनौँ । अध्यारो सुरुङमा जानेवाला छैनौँ । दम्भि, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडी बढ्नेछौँ ।’

प्रतिक्रिया